राप्रपाको एकता प्रक्रिया अचानक अवरुद्ध

कात्तिक २६, काठमाडौं । एकताको अन्तिम तयारीमा जुटेका तीनवटा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को एकता प्रक्रिया राजतन्त्रका विषयमा सहमति नजुटेपछि आइतबार साँझबाट अचानक अवरुद्ध भएको छ ।

एकताको प्रक्रिया निकै अगाडि बढ्दा निर्वाचन चिह्न गाई राख्ने विषयमा पनि सहमति हुन सकेन । कमल थापा अध्यक्ष रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी, पशुपति शमशेर राणा अध्यक्ष रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) र डा. प्रकाशचन्द्र लोहनी अध्यक्ष रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) बीचको एकता प्रक्रिया सैद्धान्तिक विषयमा आएर अवरुद्ध भएको हो ।  राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का अध्यक्ष पशुपति शमशेर राणाले एकता प्रक्रियाका विषयमा छलफल जारी छ, यसले पूर्ण आकार लिएको अवस्था छैन र छलफल सकारात्मक नै रहेको बताउनुभयो तर कमल थापा अध्यक्ष रहेको राप्रपाका प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले भने सैद्धान्तिक विषयमा आएर एकता प्रक्रिया अवरुद्ध भएको बताउनुभयो ।

नेता श्रेष्ठले भन्नुभयो, ‘‘उनीहरूले अनावश्यक रुपमा समय माग गरे, जब सोमबारका लागि राष्ट्रिय सभागृह बुक नै भइसकेको थियो, धेरै सैद्धान्तिक र सांगठानिक विषय पनि मिलिसकेका थिए, राजसंस्था रहनुपर्ने कुरालाई उनीहरूले स्वीकार गरेनन्, हामी राजसंस्था छोडेर कुनै पनि मूल्यमा एकता गर्न चाहन्नौं ।’’ गाई निर्वाचन चिह्न लिएको राप्रपा २०७० सालको संविधानसभाको निर्वाचनमा देशको चौथो ठूलो पार्टी बनेको थियो । निर्वाचन चिह्नमा पनि नेताहरूबीच सहमति जुट्न सकेन । उता राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले आफ्नो पार्टीको कार्यसम्पादन समितिको बैठक राख्नका लागि समय माग गर्नुभएको छ । देशमा गणतन्त्र आएको १५ वर्ष र गणतन्त्रात्मक संविधान जारी भएको तीन वर्ष भइसके पनि कमल थापा नेतृत्वको राप्रपाले राजसंस्थाको विषय उठाउँदै आएको छ । यद्यपि कमल थापा यही गणतन्त्रात्मक संविधान मानेर देशको उपप्रधानमन्त्रीसमेत भइसक्नुभएको छ । सैद्धान्तिक रूपमा नै कुरा नमिलेपछि यसअघि एउटै पार्टी फुटेर तीन टुक्रा भएका थिए ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.