कात्तिक २५, एजेन्सी । डिएगो गोडिनले इन्जुरी समयमा गरेको गोलमा एट्लेटिको मड्रिडले शनिबार राती एथलेटिक विल्बाओलाई ३–२ ले हराउँदै स्पेनिस ला लिगाको दोस्रो स्थानमा उक्लिएको छ ।
इनाकी विलियम्सको गोलबाट दुई पटक अग्रता लिए पनि भ्रमणकारी एथलेटिक विल्बाओले अंक जोड्न सकेन । विलियम्सले ३६औं मिनेटमा गरेको गोलबाट विल्बाओले अग्रता लिएको थियो । ६१औं मिनेटमा थोमस पार्टेले बराबरी गोल फर्काए । त्यसको तीन वित्न नपाउँदै विलियम्सले भ्रमणकारी टोलीलाई अग्रता दिए । खेल सकिन दश मिनेट बाँकी हुँदा रोड्रिगोले बराबरी गोल फर्काए । एथलेटिको कप्तान गोडिन घाइते भएर मैदान बाहिरिएका थिए । तर सबै वैकल्पिक खेलाडी मैदान छिरिसकेका कारण गोडिन नै मैदान छिरे । उनले इन्जुरी समयमा हेडमार्फत् गरेको गोललाई रेफ्रीले शुरुमा अफसाइड दिएका थिए । तर भिडियो सहायक रेफ्री ९भार०को सहयोगमा घरेलु टोलीले तीन अंक पक्का गर्यो । जितसँगै एट्लेटिको शीर्ष स्थानको बार्सिलोनासँगको दुरी १ अंकमा घटाएको छ । एथलेटिकोले १२ खेलबाट २३ अंक जोडेको छ । बार्सिलोनाको २४ अंक छ । तथापी बार्सिलोनाले एक खेल कम खेलेको छ ।
शनिबार राति नै १८औं स्थानमा रहेको लेगानेस र नवौं स्थानको जिरोनाले गोलरहित बराबरी खेल्दा १४औं स्थानको भ्यालेन्सियाले ११औं स्थानको गेटाफेलाई १–० ले हरायो । रेलिगेसन क्षेत्रमा रहेको रियाल भालेकानोले १२औं स्थानको इबरलाई गोलरहित बराबरीमा रोक्यो ।

