कात्तिक २०, पोखरा । कप्तान पारस खड्काको अर्धशतक प्रेरित चितवन राइनोजले पोखरा प्रिमियर लिगको फाइनलमा घरेलु टोली पोखरा पल्टनलाई जितका लागि १ सय ६१ रनको लक्ष्य दिएको छ ।
घरेलु टोलीका कप्तान शरद भेषावकरले पोखरा रंगशालमा टस जितेर चितवनलाई ब्याटिङका लागि निम्त्याएका थिए । ललितनारायण राजवंशीले दोस्रो ओभरमै चितवनका अोपनर हरिशंकर शाहलाई विकेटकिपर विनोद भन्डारीमार्फत् स्टम्पिङ गराउँदै कप्तानको बलिङ गर्ने निर्णयलाई सही सावित गरे । तर अर्धशतक बनाएका कप्तान पारसले दोस्रो विकेटका लागि अनिलकुमार शाहसँग दोस्रो विकेटका लागि ७६ रनको साझेदारी गर्दै चितवनको इनिङ उकासे ।
३७ बलमा ९ चौकासहित ५१ रन बनाएका पारस रनआउट भए । पारस आउट हुँदा चितवन ८५–२ को स्थितिमा थियो । त्यसपछि अनिलकुमार र सन्नी पटेलले तेस्रो विकेटका लागि ५० रनको साझेदारी गर्दै चितवनलाई सम्मानजनक स्कोरतर्फ डोर्याए । अनिलकुमारले ३७ रन जोड्दा सन्नी पटेलले ४३ रन बनाए । पटेलले २१ बलमा ३ चौका र ४ छक्का प्रहार गरेका थिए । आरिफ शेख १४ रनमा अविजित रहे । चितवनले ५ विकेट गुमाएर १ सय ६० रनको योगफल बनायो । पोखराका कृष्ण कार्कीले २ तथा ललितनारायण र मोहम्मद नाभिदले १–१विकेट लिए ।

