ठूलीभेरी दुर्घटना : मृतक सबैकाे पहिचान खुल्याे

कात्तिक २०, डोल्पा । डाेल्पाकाे ठूलीभेरी नगरपालिका–९ को कालागौँडामा भएको जीप दुर्घटनामा परी मृत्यु हुने सबैकाे पहिचान खुलेकाे छ । सदरमुकाम दुनैबाट त्रिपुरासुन्दरी नगरपालिकाका लागि छुटेकाे भे१च १६१० नम्बरकाे जीप भेरी नदीमा खसेर साेमबार दुर्घटनाग्रस्त भएकाे थियाे । साे दुर्घटनामा १० जनाकाे मृत्यु भएकाे जनाइएकाे छ ।

मृत्यु हुनेमा त्रिपुरासुन्दरी नगरपालिका–१ त्रिपुराकोटका ४५ वर्षीय हेमराज हमाल, १८ वर्षीया लक्ष्मी रोकाय, ६२ वर्षीय नरसिँह कठायत, २५ वर्षीय शेरबहादुर थापा, सोही नगरपालिका–२ की १३ वर्षीया अस्मिता रोकाय, सोही नगरपालिका–३ का ४५ वर्षीय बुध धराला, २४ वर्षीय कुमार रोकाय, सोही नगरपालिका–५ का १२ वर्षीय याम रोकाय, ठूलीभेरी नगरपालिका–५ का ३० वर्षीय भद्र रोकाय र १७ वर्षीया मनिषा धराला रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अभदेश बिष्टले जानकारी दिए । सबै शवको अाजै परीक्षण गरेर आफन्तलाई बुझाइने उनले बताए ।

यसैगरी दुर्घटनामा परी घाइते हुनेमा त्रिपुरासुन्दरी नगरपालिका–२ का नन्दबहादुर थापा र सोही नगरपालिका–३ का चालक दिनेश बोहरा रहेका छन । घाइते बोहराको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घाइते दुवैको जिल्ला अस्पतालमा उपचार भइरहेको र अाज काठमाडाैँ पठाउने तयरी भइरहेकाे छ ।

उक्त जीप सडकबाट करिब २० मिटर तल ठूलीभेरी नदीमा खसेकाे थियेा ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.