कात्तिक १९, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले आउँदो निर्वाचनमा काङ्ग्रेस पहिलो पार्टी बन्ने दाबी गरेका छन् ।
नेपाल प्रेस युनियन चितवनले आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान समारोह कार्यक्रममा उनले जनताको रक्षा गर्न उभिने पार्टी भएकाले अबको निर्वाचनमा काङ्ग्रेस ठूलो दल बन्ने दाबी गरे । उनले काङ्ग्रेसको महासमिति बैठक सर्ने पनि बताए । महामन्त्री कोइरालाले महासमिति बैठकका विषयमा केन्द्रीय कार्यसमितिमा छलफल नभएका कारण मिति सर्ने बताए । महाधिवेशनमा कसलाई सभापति बनाउने भन्ने विषयमा साथीहरुसँगको रायअनुसार अघि बढ्ने महामन्त्री कोइरालाको भनाइ थियो ।
काङ्ग्रेस अहिले पनि शक्तिशाली पार्टी रहेको बताउँदै उनले भने, “नेकपा एमाले र माओवादी मिल्दा पनि काङ्ग्रेस एकबद्ध भएको खण्डमा काङ्ग्रेसलाई जित्न सक्दैनन् ।” कम्युनिष्ट पार्टी लोकतन्त्रमा विश्वास नराख्ने पार्टी भएको भन्दै उनले थपे, “अहिले आएको परिवर्तनका कारण उनीहरुमा परिवर्तन देखिएको हो तर उनीहरु लोकतन्त्रवादी होइनन् ।”

