म्यान्चेस्टर सिटी र चेल्सीको अपराजित यात्रा कायमै

कात्तिक १९, काठमाडाैँ । इंग्लिस प्रिमयर लिग फुटबल अन्तर्गत शीर्ष स्थानको म्यान्चेस्टर सिटीले साउथह्याम्प्टन माथि ६–१ गोल अन्तरको शानदार जित हासिल गरेको छ । अर्को खेलमा चेल्सीले क्रिष्टल प्यालेसलाई ३–१ गोलले हराएको छ ।

इंग्लिस स्ट्राइकर रहिम स्टर्लिङको शानदार प्रदर्शनमा सिटीले ठूलो अन्तरको जित निकालेको हो । स्टर्लिङले २ गोल गरे भने दुई गोलका लागि पास उपलब्ध गराएका थिए ।

घरेलु मैदान इथिहाड रंगशालामा उपहार गोलमार्फत अग्रता लिएको सिटीले १८ मिनेटभित्र तीन गोल गरेको थियो । छैटौं मिनेटमा वेस्ले होटले आत्मघाती गोल गर्दा सिटीले अग्रता लियो । त्यसयता सर्जियो एज्ञ्ुरोले १२औं र डेभिड सिल्भाले १८औं मिनेटमा गोल गरे ।

तीसौं मिनेटमा पेनाल्टीमार्फत ड्यानियल इङसले साउथह्याम्प्टनका लागि गोल फर्काए । तर, इञ्यूरी समयमा रहिम स्टर्लिङले गोल गरी पहिलो हाफमै सिटीलाई ४–१ को अग्रता दिलाए ।

दोस्रो हाफमा पनि सिटी हाबी भयो । ६७औं मिनेटमा स्टर्लिङले व्यक्तिगत दोस्राे तथा टिमका लागि पाँचौं गोल गर्दा खेलको अन्तिम मिनेटमा साडियो मानेले ६–१ गोलको जित सुनिश्चित गरे । जितसँगै ११ खेलबाट २९ अंक जोडेको सिटीले शीर्ष स्थानमा दुईअंकको अग्रता लिएको छ ।

दोस्रो स्थानमा रहेको चेल्सीको समान खेलबाट २७ अंक छ । गएराति नै भएको खेलमा चेल्सीले क्रिष्टल प्यालेसलाई ३–१ गोलले हराउँदा उसका स्पेनिस स्ट्राइकर अल्भारो मोराटाले दुई गोल गरे ।

घरेलु मैदान स्टाम्फोर्ड ब्रिजमा मोराटाको गोलमार्फत चेल्सीले पहिलो हाफमा १–० को अग्रता लिएको थियो । दोस्रो हाफमा क्रिष्टल प्यालेसले गोल फर्कायो ।

५३औं मिनेटमा टाउनसेन्डले गोल गरेका थिए । तर, ६५औं मिनेटमा मोराटाले व्यक्तिगत दोस्रो गोल गरे भने त्यसको पाँच मिनेटपछि पेड्रोले तेस्रो गोल गरे र टिमको ३–१ को जित निश्चित गरे ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.