प्याराग्लाइडिङ वल्र्डकपमा कोरियाको वर्चश्व

कात्तिक १९, स्याङजा । कोरियाले प्रथम नेपाल प्याराग्लाईडिङ एकुरेसी (स्पोट ल्यान्डिङ) वल्र्डकप–२०१८ को उपाधि जितेको छ । तीन दिनको खेलमा कोरियाले ६ राउन्ड पूरा गर्दा १२ अंकसहित उपाधि जित्न सफल भएको हो ।

खुला एकल तथा समूह चरणको खेलमा समेत वचश्र्व जमाउन सफल भएको कोरियाले उक्त प्रतियोगितामा ३ वटा स्वर्ण पदक जित्न सफल भएको हो । स्याङ्जाको स्वरेक मैदान (भिरकोट)  बाट उडान गरी वालिङको डौंवाफाँटमा अवतरण गरेका कोरियाका स्याङ लिमले ६ राउन्डको खेलमा १२ अंक ल्याउँदै खुलातर्फ उपाधि जितेका हुन् । पहिलो दिनको खेलमा उनी तेस्रो स्थानमा थिए भने दोस्रो दिनको खेलबाट लिड गर्न सफल भएका थिए ।

६ राउन्डको खेलमा कोरियाका खेलाडी जीहुन हो ले १५ अंक सहित दोस्रो भए भने कोरियन खेलाडी किम कि हेवन तेस्रो भए । हेवनको समान १५ अंक भए पनि एक राउन्डमा हेवनको भन्दा जीहुनको अंक कम थियो । पहिलो दिनको दुई राउन्डको खेलमा अग्रस्थान रहेका सोलोभानियाका प्रि–लोजुक रोक प्रतियोगितामा चौथो स्थान हासिल गरेका छन् । उनले १६ अंक ल्याएका हुन् । एसियाली खेलकुदमा रजत पदक विजेता नेपाली खेलाडी युकेस गुरुङ खुलातर्फको इभेन्टमा ३३ अंकका साथमा ८ औं स्थानमा छन् । त्यसैगरी तीन दिन अर्थात ६ राउन्डको खेलमा महिलातर्फ पनि कोरियाका खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गर्दा कोरियाले स्वर्ण पदक हात पार्न सफल भएको हो । कोरियाकी हुनही किमले ६ राउन्डको खेलमा ५९ अंक ल्याउँदै महिलातर्फ उपाधि हात पार्न सफल भइन् । त्यसैगरी कोरियाकै योनह्याङ चोले ७४ अंकका साथ दोस्रो स्थानमा रहेकी हुन् । उनी दोस्रो दिनसम्मको खेलमा भने प्रथम स्थानमा रहेकी थिइन् ।

इन्डोनेसियाकी गीता रेजकी गुण्टरी तेस्रो भइन् । उनले ६ राउन्डको खेलमा २ सय ११ अंक ल्याउन सफल भएकी हुन् । त्यस्तै पुरुष टिमतर्फ कोरिया प्रथम र दोस्रो उपाधि हात पार्दा नेपालले तेस्रो स्थानमा आउन सफल भएको छ । कोरियाले ९३ अंकका साथ स्वर्ण पदक हात पार्दा, दोस्रोतर्फ पनि कोरियाले १ सय ६४ अंकका साथ रजत र नेपालले २ सय ८४ अंकका साथ तेस्रो अर्थात कास्य पदक हात पार्न सफल भएको हो । नेपाली टिममा एसियन गेम्सका रजत पदक विजेता खेलाडी कप्तान विमल अधिकारी, युकेस गुरुङ, विशाल थापा र विजय गौतम थिए । शुक्रबार २, शनिबार ३ र आईतबार एक राउन्डको खेल भएकोे प्रतियोगिताका अफिसियल बालकृष्ण बसेलले बताए । उक्त प्रतियोगितामा २१ देशका १ सय २० प्याराग्लाइडिङ पाइलटहरूले नाम दर्ता गराए पनि प्रतियोगितामा भने १८ देशका ७९ जना खेलाडीले मात्र सहभागी जनाएको प्रतियोगिताका संयोजक शैलेन्द्र राउतले बताए । पुरुष र महिलाको टिम तथा व्यक्तिगत एक्युरेसी गरी ३ वटा स्वर्ण पदकका लागि उक्त प्रतियोगिता स्याङ्जामा पहिलो पटक प्याराग्लाइडिङको वल्र्डकप भएको प्रतियोगिता मुल आयोजक समितिका संयोजक एवं जिल्ला समन्वय समिति स्याङ्जाका प्रमुख समेत रहेकी सीताकुमारी सुन्दासले बताइन् ।

विजेता खेलाडीहरूको टोलीलाई गरिबी निवारण तथा भूमिसुधार मन्त्री पद्मा अर्याल, राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्ट, नेफाका अध्यक्ष रुपनारायण श्रेष्ठ, नेपाल ओलम्पिक कमिटिका सदस्य तेजबहादुर गुरुङलगायतले पुरस्कार वितरण गरेका हुन् । प्रतियोगिताका बिजयी टिम तर्फ प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः १५ सय, १२ सय र ७ सय युरो प्राप्त गरे भने व्यक्तिगततर्फ पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः १ हजार, ७ सय ५० र ५ सय युरो प्राप्त गरेको प्रतियागिताका सचिवालय प्रमुख अनन्तकुमार श्रेष्ठले बताए ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.