कात्तिक १९, काठमाडौं । संघीय संसद्का पदाधिकारी सबैले दुई जना सवारी चालक राख्न पाउँछन्। धेरैले सुविधा अनुसारका दुईजना चालक राखेका छैनन तर पारिश्रमिक भने लिएका छन्।
प्रतिनिधिसभाका सभामुख र उपसभामुख, राष्ट्रियसभाका अध्यक्ष र उपाध्यक्ष तथा समिति सभापति समेतले दुई जना चालकको सुविधा पाउँछन्।
संघीय संसद सचिवालयले पदाधिकारीलाई दुई जना सवारी चालकको सुविधा दिने गरेको छ। चालकको मासिक पारिश्रमिक भुक्तानी पनि सम्बन्धित पदाधिकारीकै बैंक खातामार्फत गरिन्छ। हलुका सवारी चालकका रूपमा प्रतिसवारी चालक १८ हजार तीन सय रुपियाँका दरले दुईजना चालकका लागि मासिक ३६ हजार ६०० रुपियाँ पदाधिकारीकै खातामा जम्मा गरिदिन्छ।
तर, दुई सवारी चालकको सुविधा बुझे पनि अधिकांश पदाधिकारीका चालक एकजना मात्र रहेका छन । २ जनाकाे नाउँमा तलबभत्ता पदाधिकारी अाफैँले बुझ्ने गरेकाे छ ।
संघीय संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले स्पष्ट कानुनी व्यवस्था नहुँदा पदाधिकारीमार्फत नै चालकको पारिश्रमिक भुक्तानी व्यवस्था गरिने गरिएको बताए। पाण्डेले भने ‘हामीले अहिले पदाधिकारीमार्फत नै चालकको पारिश्रमिक भुक्तानी गर्दै आएका छौँ। को राख्ने कति राख्ने सबै उनिहरुकै स्वविवेकको कुरा हो। दुई चालक राख्ने सुविधा ऐनले दिएको छ।’
पदाधिकारीले सुविधा बुझ्नका लागि भने अनिवार्य रूपमा दुई चालककै नाम उपलब्ध गराउनुपर्छ। तर, सचिवालयको सवारी शाखाको रेकर्ड अनुसार गेटपासका लागि नाम दर्ता गर्ने सवारी चालक भने अधिकांश पदाधिकारीका एक मात्र छन्।

