कात्तिक १७, काठमाडौं । गुठी संस्थान शनिवार ५५ औँ वर्षमा प्रवेश गर्दैछ । नववर्ष प्रवेशसँगै संस्थानले पर्वपूजामा गर्दै आएको पशुवली कम गर्दै जाने प्रतिवद्धता प्रकट गरेको छ ।
गुठी जग्गाको कूतवाली स्थानीय तहसँग सम्झौता गरी मोहीले स्थानीय तहमा बुझाउन सकिने व्यबस्था गर्ने योजना बनाएको छ । गुठी जग्गाको नापजाँच र सिमाङ्कन पनि यसैसाथ अगाडि बढाइने भएको छ । संस्थानका प्रवक्ता सरोज थपलियाका अनुसार पर्वपूजाका लागि १० करोड २३ लाख रुपियाँ र प्रशासनिक खर्च १३ करोड ८१ लाख रुपियाँ खर्च गर्ने योजना बनाइएको छ ।
देवस्थल मर्मत सम्भारतर्फ चार करोड रुपियाँ राखिएको छ । सार्वजनिक निजी र साझेदारी योजना अन्तर्गत संस्थान कार्यक्रम तथा योजना अगाडि बढाउने उद्देश्य राखेको छ । संस्थानको अक्षय कोषमा कूल दुई अर्व ५० करोड रुपियाँ मौज्दात छ । यसैवर्ष सहयोगी सहायक र अधिकृत तहमा नयाँ कर्मचारीको आवश्यकता भएकोले त्यसका लागि आह्वान गरिने भएको छ ।
सरकारसँग जग्गा मुआव्जा र गुठी जग्गा भोगचलन बापत लिन बाँकी तीन अर्ब रुपियाँ बक्यौता लिन संस्थानले आवश्यक पहल गर्ने योजना यो वर्ष बनाएको छ । संस्थानको वर्षगाँठको अवसरमा संस्थानअन्तर्गत रहेका मठका साधुसन्त महन्थले केश मुण्डन गरेर शुक्रवार शुद्ध भएको जनाइएको छ ।

