कञ्चनपुरमा नौ जनामा डेङ्गुको सङ्क्रमण

कात्तिक १५, भीमदत्तनगर। सामान्य बिरामी भएर उपचारका लागि महाकाली अञ्चल अस्पताल आएका नौ जना बिरामीमा डेङ्गुको सङ्क्रमण देखिएको छ ।

भीमदत्तनगरस्थित सो अस्पतालमा एक महीनामा एक महिलासहित नौ पुरुषमा डेङ्गु रोगको सङ्क्रमण देखिएको अस्पतालका सूचना अधिकृत केशवदत्त अवस्थीले जानकारी दिए । “सामान्य अवस्थामा रुघा, ज्वरो लागेर आएका नौ जनालाई डेङ्गु रोग लागेको परिक्षणका क्रममा भेटियो”, सूचना अधिकृत अवस्थीले भने, “डेङ्गु देखिएका सबै बिरामीलाई अस्पतालमै उपचार गरिएको छ ।” गत असोजको तेस्रो सातायता बिरामीमा डेङ्गुको सङ्क्रमण देखिएको अवस्थीको भनाइ छ । डेङ्गु देखिएका अधिकांश बिरामी भीमदत्तनगरपालिकाकै रहेका छन् । “गत वर्ष पनि चार पाँच जनामा यो रोग देखिएको थियो,” अवस्थीले भने, “यस पटक यसको सङ्क्रमण बढीमा देखियो ।”

छिमेकी मुलुक भारतका विभिन्न शहरमा डेङ्गुको प्रकोप देखिएकोले त्यता रोजगारी गरी फर्किएका स्थानीयवासीलाई डेङ्गु देखिएको बताइएको छ । लामखुट्टेको टोकाइबाट डेङ्गु लाग्नाका साथै सङ्क्रमण फैलिने खतरा रहने भएकोले त्यसमा सचेतना अपनाउनुपर्ने चिकित्सकको सुझाव छ । पश्चिमी नाका गड्डाचौकीमा स्थापना गरिएको ‘हेल्थ डेस्क’मा मलेरिया, क्षयरोग लगायतको परिक्षण हुने गरेको छ । भए पनि डेङ्गुको सीमामा जाँचको सुविधा नरहेको जिल्ला जनस्वास्थ्य कार्यालय कञ्चनपुरले जनाएको छ । डेङ्गु रोग पत्ता लगाउने ‘टेस्ट किट’ महँगो पर्नाका साथै त्यसको अभावको समस्याले सीमा क्षेत्रमा सञ्चालनमा आएको डेस्कमा जाँच असम्भव रहेको जनस्वास्थ्य कार्यालयले जनाएको छ । गड्डाचौकीमा विगत तीन वर्षदेखि हेल्थ डेस्क सञ्चालनमा रहेको छ । –रासस

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.