शिक्षामा कोरियाली सहयोग बढाउन आग्रह

कात्तिक १५, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले दक्षिण कोरियाबाट नेपाललाई विकास, अध्ययन र तालीम तथा सूचना प्रविधिका क्षेत्रमा उल्लेखनीय सहयोग प्राप्त भएको बताउनुभएको छ ।

नेपालका लागि दक्षिण कोरियाका राजदूत योङ सिक पार्कसँग आज सिंहदरबारस्थित मन्त्रालयका भएको भेटवार्तामा मन्त्री पोखरेलले ती सहयोगले विद्यालय शिक्षादेखि उच्च शिक्षासम्मको विकासमा सहयोग मिलेको बताउनुभयो । दुई देशबीचको सम्बन्ध विशिष्ट प्रकृतिको रहेको उल्लेख गर्दै मन्त्री पोखरेलले नेपाली युवालाई कोरियामा अध्ययन तथा रोजगारीका अवसर प्राप्त हुनु र अफिसियल डेभलपमेन्ट एसिस्टेन्टअन्तर्गत नेपालको बहुआयामिक विकासमा सहयोग पुगेको उल्लेख गर्नुभयो ।

हालै झापा र महोत्तरीमा कार्यान्वयन गर्ने गरी विद्यालयको सिकाइ वातावरण सुधार्न र बहु प्राविधिक शिक्षालय स्थापनामा कोरियाली सहयोगमा दुई परियोजनाका लागि कोरिया सरकारसमक्ष प्रस्ताव पेस गरिएको उहाँले अवगत गराउनुभयो ।  संविधान र सङ्घीयतासँगै मुलुक समृद्धितर्फ उन्मुख भएको जानकारी दिँदै मन्त्री पोखरेलले समृद्धिको अभियानमा कोरियाजस्तो मुलुकको सहयोग कोशेढुङ्गा हुने आशा व्यक्त गर्नुभयो ।

मन्त्री पोखरेलले यही कात्तिक २९ गतेदेखि मङ्सिर २ गतेसम्म सियोलमा हुने विश्व सूचना प्रविधि नेतृत्व सम्मेलन’ मा भाग लिन आफूले निमन्त्रणा स्वीकार गरेको पनि जानकारी दिनुभयो ।राजदूत पार्कले आफूले नेपालको प्राविधिक तथा व्यावसायिक शिक्षाका विकासका लागि नेपाल सरकारले लिएको नीति सकारात्मक रहेको भन्दै यस क्षेत्रमा थप सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो । –रासस

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.