कात्तिक १२, काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिक्षासेवी एवं नेकपाका पुराना नेता सीताराम मास्केप्रति श्रद्धाञ्जलि व्यक्त गर्नुभएको छ ।
नेकपाको मुख्यालय धुम्बाराहीमा आयोजित कार्यक्रममा अध्यक्ष दाहालले मास्केप्रति श्रद्धाञ्जलि व्यक्त गर्नुभएको हो । अध्यक्ष दाहालले मास्केको पार्थिव शरीरमा नेकपाको झण्डासमेत ओढाउनु भएको थियो । सोही अवसरमा नेकपाका वरिष्ठ नेता झलनाथ खनाल, महासचिव विष्णुप्रसाद पौडेल, सचिवालय सदस्य वामदेव गौतम, गृहमन्त्री रामबहादुर थापा, नेता अग्निप्रसाद सापकोटालगायतले पनि मास्केप्रति श्रद्धाञ्जलि व्यक्त गर्नुभएको थियो ।
माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा एक महीनादेखि उपचार गराउँदै आउनुभएका ७१ वर्षीय मास्केको शनिबार मस्तिष्कघातका कारण निधन भएको थियो । उहाँको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने नेकपाका केन्द्रीय सदस्य कृष्णगोपाल श्रेष्ठले जानकारी दिनुभयो । विसं २००४ माघ १९ गते आमा पदमकुमारी मास्के र बुबा विष्णुप्रसाद मास्केको कोखबाट तेह्रथुमको जलजलेमा जन्मिनुभएका मास्केका चार छोरा र श्रीमती हुुनुहुन्छ । उहाँ निरङ्कुश पञ्चायती व्यवस्थाका विरुद्ध सञ्चालन भएको राजनीतिक आन्दोलन, विद्यार्थी आन्दोलन, प्राध्यापक तथा शिक्षक आन्दोलनका क्रममा पटकपटक गरी तीन वर्ष जेल तथा हिरासतमा पर्नुभएको थियो ।
मास्के २०४३ सालमा भएको पञ्चायती निर्वाचनमा काठमाडौं नगरपालिकाको प्रधानपञ्चमा नेकपा (माले) को तर्फबाट उम्मेदवार हुनुभएको थियो । उहाँले तत्कालीन मालेको काठमाडौँ जिल्ला कमिटी सदस्यको जिम्मेवारी निर्वाह गर्नुभएको थियो । नेपाल राष्ट्रिय शिक्षक सङ्गठनका संस्थापक कोषाध्यक्ष रहनुभएका मास्केले सरकारी शिक्षक सेवाबाट निवृत्त भएपछि स्वयम्भूस्थित जलजला शिशु सदन सञ्चालन गर्नुभएको थियो ।

