कात्तिक १२, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या झन बढेपछि अस्पताल भर्ना गरिएको छ । अाज सोमबार बिहान चार बजेतिर उहाँलाई त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना गरिएको प्रधानमन्त्री कार्यालय स्रोतले जानकारी दिएको छ ।
गत शुक्रबारदेखि अस्वस्थ रहनुभएका प्रधानमन्त्री ओलीलाई आज बिहान महाराजगञ्जको शिक्षण अस्पतालस्थित मनमोहन कार्डियो सेन्टरमा भर्ना गरिएको हाे ।
ओलीलाई खोकी बढ्दै गएपछि संक्रमण हुने डर भएकोले उपचारभन्दा पनि पुर्वसावधानीका दृष्टिले अस्पताल भर्ना गरिएको उहाँका प्रेस सल्लाहकार कुन्दन अर्यालले बताउनुभयाे ।
उहाँको आईसीयुमा राखेर उपचार भएरहेको छ । भाइरल ज्वरो र छातीमा संक्रमण भएपछि गत शुक्रबार पनि उहाँले शिक्षण अस्पतालमा चेकजाँच गराउनुभएको थियो । त्यसपछि चिकित्सकको सल्लाहअनुसार निवासमै बसेर आराम गरिरहनुभएको थियो ।
शनिबार नेकपाले गरेको चियापानमा उपस्थित हुन नसक्नुभएका प्रधानमन्त्रीले आइतबार अपराह्न मन्त्रीपरिषदको बैठकमा १० मिनेटमात्र उपस्थित हुन सक्नुभएको थियो । प्रधानमन्त्रीको सचिवालयले आइतबार उहाँको स्वास्थ्यमा सुधार भएको र ज्वरो पनि घटेको जानकारी गराएको थियो । तर, सोमबार फेरि गाह्रो भएपछि उहाँलाई शिक्षण अस्पताल भर्ना गरिएको हो ।

