दुवईमा एकै कम्पनीमा कार्यरत चेलीहरुवीच छुरा प्रहारः एकको मृत्यु, तीन जना घाइते

कात्तिक ११, दुवई । दुवईमा नेपाली चेलीहरुबीच झगडा हुँदा एकजनाको मृत्यु भएको छ । दुबईको शारजाहस्थित एक कम्पनीमा कार्यरत नुवाकोटकी सोनी तामाङले एकै कम्पनीमा कार्यरत चारजना साथीमाथि छुरा प्रहार गरेकी थिइन् ।

छुरा प्रहारबाट काठमाडौंकी सिर्जना बरालको मृत्यु भएको अबुधाबीस्थित नेपाली दूतावासले जानकारी दिएको छ । गम्भीर घाइते ममता चौधरीको आईसियुमा उपचार भइरहेको छ । घटनामा घाइते सलिना मगर र आशा दर्जी उपचारपछि कार्यस्थल फर्किसकेका छन् । घाइते तीनजनाको ठेगाना भने खुलेकोे छैन । बिहीबार राति तामाङले मादक पदार्थ सेवन गरी झगडा सुरु गरेको र झगडाले उग्ररुप लिएपछि छुरा प्रहार गरेको नेपाली दूतावास अबुधाबीका कार्यवाहक राजदूत सागरप्रसाद फुयाँलले जानकारी दिए ।

हत्यामा संलग्न तामाङलाई उनले प्रयोग गरेको छुरासहित प्रहरीले नियन्त्रणमा लिएको छ । उनीमाथि अनुसन्धान चलिरहेको र युएईको कानून अनुसार सजाय हुने दूतावासले जनाएको छ ।युएईको कानूनअनुसार हत्या अभियोगमा दोषी ठहरिएमा मृतकको परिवारको इच्छा अनुसार हत्यामा संलग्नलाई मृत्युदण्ड वा ब्लडमनीको जरिवाना हुन सक्ने प्रावधान छ । चार वर्षअघि सोही कम्पनीमा दुई नेपालीबीच झगडा हुँदा एकको मृत्यु भएको थियो । जनकपुरका वीरेन्द्र शाहले (सुरी) पाँचथरका रञ्जीत खपाङ्गीको छुरा प्रहार गरी हत्या गरेका थिए । शाह अहिले युएईमा सजाय भोगिरहेका छन् ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.