कात्तिक ११, काठमाडौं । लेष्टर सिटीका मालिकको हेलिकप्टर क्लबको पार्कनजिक दुर्घटनाग्रस्त भएको छ । शनिबार राति लेष्टर सिटी र वेष्ट ह्यामबीचको खेल १–१ को बराबरीमा सकिएको केही समयपछि सिटीका मालिक विचाई श्रीवद्र्धनाप्रभाको हेलिकप्टर पार्कमा दुर्घटनाग्रस्त भएको हो ।
हेलिकप्टर पूर्णरुपमा आगो लागेर नष्ट भएको छ । हेलिकप्टरभित्र को–को सवार थिए भन्नेबारे नखुलेको बिबिसीले जनाएको छ । खेल सकिएको एक घण्टापछि मैदानको बीच भागबाट हेलिकप्टर उडेको थियो । मालिक विचाई पनि खेल हेर्न मैदान पुगेको पुष्टि भएको छ । बेला बेलामा उनी खेल हेर्न मैदान पुग्नेगरेको बिबिसीले उल्लेख गरेको छ । उनी दुर्घटनामा परेको वा नपरेकोबारे सिटीले केही बताएको छैन । हेलिकप्टर दुर्घटना हुनेबित्तिकै सिटीका गोलरक्षक क्यास्पर स्माइकल पनि दुर्घटनास्थल तर्फ कुदेको प्रत्यक्षदर्शीले बताएको बिबिसीले लेखेको छ । प्रत्यक्षदर्शीका अनुसार हेलिकप्टर आकाशमा घुम्दै कार पार्कमा ठोक्किएको थियो । – एजेन्सी

