ठूलो कर्जामा बैंकले लगाए रोक

कात्तिक १०, काठमाडौं । लगानीयोग्य रकम अर्थात् तरलता अभावका कारण ब्याङ्क तथा वित्तीय संस्थाले ठूलो मात्रामा कर्जा दिन रोकेको बताएका छन्।

वित्तीय संस्थाहरूको नियामक निकाय राष्ट्र ब्याङ्कका अधिकारीहरू भने बजारमा अझै ५३ अर्ब रुपैयाँभन्दा बराबरको तरलता रहेको बताउँछन्। नेपाली रुपैयाँको तुलनामा अमेरिकी डलरको भाउ बढेको मौका छोपी ब्याङ्कहरूले अरबौँ रुपैयाँ बराबरको डलर विदेशमा राख्दा यस्तो समस्या देखा परेको अधिकारीहरूको दाबी छ। बजारमा तरलता समस्या देखिन थालेको भन्दै दशैँअघि वाणिज्य ब्याङ्कहरूले निक्षेपको ब्याजदर घटाउने निर्णय गरेका थिए।

कर्जा
दशैँमा सर्वसाधारणले ब्याङ्कमा राखेको पैसा झिकेपछि त्यो समस्या अझ बढेको ब्याङ्क तथा वित्तीय संस्थाहरूको भनाइ छ। यसको प्रभाव ब्याङ्कहरूको कर्जा प्रवाहमा पर्न थालेको प्रभु ब्याङ्कका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन बताउँछन्। उनले भने, ‘हामीले ठूला कर्जा प्रवाह रोकेका छौँ। हामीले रोक्न सक्ने खालका कर्जालाई पर धकेलिरहेका छौँ र केही समय पर्खिन भनेका छौँ।’ ‘राष्ट्र ब्याङ्कले पनि यसलाई नजिकबाट अनुगम गरिरहेको छ र आवश्यक परेको खण्डमा कुनै न कुनै किसिमको आर्थिक उपाय निकाल्छ होला।’

राष्ट्र ब्याङ्कका अधिकारीहरू भने ब्याङ्कहरूको उक्त तर्क मान्न तयार छैनन्। राष्ट्र ब्याङ्कका एकजना कार्यकारी निर्देशक नरबाहादुर थापाले भने, ‘तरलता समस्या चाहिँ छैन किनभने अहिले ब्याङ्कहरूसँग ५३ अर्ब रुपैयाँभन्दा बढी तलरता छ। असारको तुलनामा अहिले ब्याङ्कहरूले ३६ अर्ब आफ्नो सञ्चिति बढाएका छन्।’

लाभ
‘अमेरिकी डलर बलियो नभएको भए उनीहरूले राष्ट्र ब्याङ्कलाई त्यो विक्री गर्थे। आफूसँग रहेको डलर विदेशमा लगानी गर्ने र डलर थप बलियो भएपछि विनिमय दरबाट लाभ लिने उनीहरूको उद्देश्य देखिन्छ।’ ब्याङ्कहरूले यसरी तरलताको समस्या देखाउने गरेको केही वर्षअघि देखिनै हो। पछिल्लो समय देखिएको समस्यालाई ध्यानमा राख्दै राष्ट्र ब्याङ्कले यस वर्षको मौद्रिक नीतिमा ब्याङ्क तथा वित्तीय संस्थाले २० प्रतिशतभन्दा बढी कर्जा प्रवाह गर्न नहुने व्यवस्था गरेको छ। तर आर्थिक वर्ष शुरू भएको तीन महिनाभित्रै अधिकाशं ब्याङ्कले त्यो सीमा नाघिसकेको बताएका छन्।

कतिपय जानकार भने थप कर्जा प्रवाहका लागि राष्ट्र ब्याङ्कलाई उक्त नियम खुकुलो बनाउन दबाब दिनका लागि ब्याङ्कहरूले तरलता अभावको हल्ला चलाएको बताउँछन्।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.