प्रहरी हिरासतको रड काटेर दुई अभियुक्त फरार

कात्तिक ९, विराटनगर । विराटनगरस्थित इलाका प्रहरी कार्यालय (इप्रका) रानीको हिरासत कक्षबाट दुई अभियुक्त फरार भएका छन् । हिरासत कक्षको रड काटेर बिहीबार राति हत्याका दुई अभियुक्त फरार भएका हुन् ।

कर्तव्य ज्यान तथा अपहरण मुद्दा चलाउनका लागि अदालतबाट म्याद थप गरेर अनुसन्धानका लागि हिरासतमा राखिएका दुई थुनुवा भागेका हुन् । फरार हुनेमा विराटनगर महानगरपालिका–१७ का २० वर्षीय मोहम्मद आरिफ र मोहम्मद सदिम हुसेन रहेका छन् । आरिफ र हुसेनलाई अपहरण गरेर आफ्नै साथीको हत्या गरेको अभियोगमा प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको थियो। उनीहरुले आफ्नै साथी विराटनगर–१७ रानीका १९ वर्षीय मोहम्मद अस्ताकको अपहरणपछि हत्या गरेका थिए । अस्ताकको शव हत्या गरेर फ्यालेको अवस्थामा गत असोज ७ गते ह्युम पाइप मुनी फेला परेको थियो। ड्युटीका प्रहरीको लापरवाहीका कारण अभियुक्तहरु प्रहरी हिरासतमा रहेको भेन्टिलेसनको रड काटेर फरार भएका हुन्। २४ घण्टा सुरक्षाका लागि हतियारसहित प्रहरी खटाइएको हुन्छ। थुनुवाले फलामको रड काट्दासम्म पनि हिरासत सुरक्षार्थ खटाइएका प्रहरीले थाहा नपाउनुलाई लापरवाहीका रुपमा लिइएको छ।

हिरासत कक्षमा हावा पास हुनका लागि पूर्वतर्फ राखिएको भेन्टिलेसनको ६ वटा रड काटेर थुनुवा भागेको गम्भीर घटनाको सबै पाटोबाट अनुसन्धान सुरु गरिएको मोरङ प्रहरी प्रमुख एसपी मनोज कुमार केसीले जानकारी दिए । ड्युटीका क्रममा लापरवाही गर्ने सात जना प्रहरीमाथि अनुसन्धान सुरु गरिएको केसीले बताए । अनुसन्धानका लागि ड्युटी कमान्डर प्रहरी सहायक निरीक्षक पशुपति बस्नेत, क्वार्टर गार्ड प्रहरी हवल्दार जीरालाल रौनियार तथा जवानहरु रिंकु मण्डल, अमित तामाङ, सुरेश राजवंशी र जगरनाथ वास्केलाई जिल्ला बोलाईएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.