कात्तिक ८, काठमाडौं । तेस्रो हेलम्बु म्याराथनको उपाधि किरण कुलुङले जितेका छन् ।
निर्धारित ४२ किलोमिटरको दूरी ४ घन्टा ३२ दशमलब ३० मिनेटमा पूरा गर्दै कुलुङले उपाधि जिते । सुमन लामा दोस्रो तथा सन्तोष खालिङ तेस्रो भए । सन्तोषले निर्धारित दुरी ४ घन्टा ३८.४५ मिनेट र सन्तोष खालिङले ५ घन्टा ५२.३० मिनेटमा पूरा गरेका थिए । उपाधि विजेता कुलुङले नगद २५ हजारसहित ट्रफी र मेडल पुरस्कार पाए । दोस्रो भएका सन्तोष लामाले १५ हजार तेस्रो भएका खालिङले १० हजार पुरस्कार पाए।
भेट्रान्सतर्फ ४२ किलोमिटरको दूरी ५ घन्टा २६.५० मिनेटमा पुरा गर्दै गंगा लाल तामाङ पहिलो भए । भिम बहादुर दोस्रो र दावा जाङमु शेर्पा तेस्रो भए । उनीहरुले क्रमशः १० हजार, ८ हजार र ५ हजार पुरस्कार पाए । हेलम्बु गाउँपालिकाको २४७४ मिटर उचाइमा अवस्थित कुटुङसाङबाट सुरु भइ २५६० मिटर उचाइमा अवस्थित सेर्माथाङसम्म निर्धारण गरिएको थियो । फुल म्याराथनमा १८ पुरुष र ३ महिलाले सहभागिता भएका थिए । छात्र र छात्राबीच भएको ५ कि.मि.को दौडमा छात्रतर्फ सागर श्रेष्ठ र छात्रातर्फ निमा डोल्मा ह्योल्मो बिजयी भइन् ।
सागर श्रेष्ठले २४.११ मिनेटमा दूरी पूरा गरेका थिए भने निमा डोल्मा ह्योल्मोले ३७.३३ मिनेटका दुरी पार गरेकी थिइन् । ५ किलोमिटरको खुलातर्फको प्रतिस्पर्धामा पुरुष तर्फ पेम्बा टासी ह्योल्मोले पहिलो भए । उनले २५.०७ मिनेटमा दुरी पार गरेका थिए । महिला तर्पm एकल स्पर्धामा रेखा बिष्ट प्रथम भइन् । उनले २७.५० मिनेटमा दूरी पुरा गरेकी थिइन् । पहिलो, दोश्रो र तेश्रोले क्रमशः ५ हजार, ३ हजार र २ हजार प्राप्त गरे । म्याराथनसँगै पाँच किलोमिटरको वाकाथन आयोजना गरिएको थियो । त्यस्तै कल्चर र फुड फेष्टिबलको पनि आयोजना गरिएको थियो । विजेतालाई युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले पुरस्कार वितरण गरेका थिए । सन् २००५ का एभरेष्ट म्याराथनका विजेता स्थानीय छिरिङ लामाको एकल प्रयासमा हेलम्बु म्याराथन आयोजना हुँदै आएको छ ।

