ल्याण्डफिल साइट केन्द्र सरकारले बनाइदिनुपर्छः मेयर शाक्य

कात्तिक ८, काठमाडौं । काठमाडौं महानगरपिलकाले फोहर विसर्जनस्थल (ल्यान्डफिल साइट) केन्द्र सरकारले नै निर्माण गरिदिनुपर्ने बताएको छ ।

महानगरका प्रमुख विद्यासुन्दर शाक्यले ल्याण्डफिल साइट निर्माण गर्ने जिम्मा आफ्नो नभएको बताउँदै केन्द्र सरकारले निर्माण गरेपछि सङ्कलित फोहर लाने काम मात्र स्थानीय तहको भएको जिकिर गरे । शाक्यले भने,’फोहर राख्ने स्थान निर्माण गर्नका लागि आफूहरुसँग स्रोतसाधन नभएकाले केन्द्र सरकारले नै स्थान तय गरिदिनुपर्छ ।’ दुई वर्षका लागि फोहर व्यवस्थापन गर्ने भन्दै १३ वर्षदेखि नुवाकोटको सिसडोलमा फोहर राखिँदै आएको छ । काठमाडौँ उपत्यकाका १८ स्थानीय तहको फोहर उक्त स्थानमा व्यवस्थापन हुने गर्छ ।

‘फोहर फाल्ने स्थान निर्माणका सम्बन्धमा नेपाल सरकासँग कुरा भइरहेको छ यो समस्या छिट्टै हट्छ’ शाक्यले भने । सिसडोलभन्दा दुई किलोमिटर पर एक हजार सात सय रोपनी जग्गा अधिग्रहण गरिसकिएको भए पनि निर्माणको काम अघि बढ्न सकेको छैन । उक्त स्थान निर्माणका लागि करिब तीन अरब रुपैयाँ र कम्तीमा दुई वर्षको समय लाग्ने अनुमान गरिएको छ । उपत्यकाबाट दैनिक एक हजार दुई सय मेट्रिक टन फोहर सिसडोलमा व्यवस्थापन हुँदै आएको छ जसमा सबैभन्दा बढी कामपाबाट पाँच सय मेट्रिक टन फोहर लगिने गरिएको छ । हरेक दिन उपत्यकाबाट निजी र कामपाका गरी दुई सय गाडी फोहर त्यहाँ जान्छ । वर्षाको समय आएपछि बाटो पहिराले पुर्ने र खाल्टो पर्ने हुँदा लामो समयसम्म पनि फोहर उपत्यकामा नै रहने समस्या कुनै नौलो भने होइन ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.