यसवर्ष धान उत्पादनले नयाँ रेकर्ड राख्ने अनुमान

कात्तिक ७, काठमाडौं । गत वर्षभन्दा यो वर्ष करिब साँढे ६ लाख टन धेरै धान फलेको अनुमान गरिएको छ । अहिले सम्मकै रेकर्ड तोड्दै चालू आर्थिक वर्ष ०७५÷७६ मा करिब ५८ लाख मेट्रिक टन धान फल्ने प्रक्षेपण कृषि तथा पशुपक्षी मन्त्रालयले गरेको छ । गत आव ०७४÷७५ मा ५१ लाख ५१ हजार टन धान फलेको थियो । विगतमा सबैभन्दा धेरै आव ०७३÷७४ मा ५२ लाख ३० हजार टन धान उत्पादन भएको थियो ।

धान रोपण क्षेत्र वृद्धि, समयमै रोपाइँ, अनुकूल मौसम, सिँचाइ, प्रविधि, मल, बीउको राम्रो व्यवस्था हुँदा धान उत्पादन बढेको मन्त्रालयका सचिव युवकध्वज जिसीले बताए । ‘विगतमा भन्दा निकै धेरै राम्रो धान फलेको छ,’ जिसीले भने, ‘रोग किराको प्रकोप नआएकाले पनि उत्पादन बढेको हो ।’ विगतमा बाँझै रहने जमिनमा पनि यो वर्ष समयमै वर्षा हुँदा धान रोपिएको मन्त्रालयले जनाएको छ । ‘विगतका वर्ष भन्दा यो वर्ष बढी क्षेत्रमा रोपाइँ भएको थियो,’ सचिव जिसीले भने, ‘सबै पक्षले साथ दिँदा उत्पादन बढेको हो ।’ यो वर्ष धान खेतीको क्षेत्रफल पनि विस्तार भएको छ । धान खेती १५ लाख ६२ हजार हेक्टर पुगेको छ ।

यो वर्ष किसानले धान काटेर भित्र्याउन सुरु गरिसकेको कृषि विभागका महानिर्देशक सूर्यप्रसाद पौडेलले बताए । ‘किसानले धान भित्र्याउन थालेका छन्,’ महानिर्देशक पौडेलले भने, ‘यो वर्ष चैतेधान बाहेक ५५ लाख मेट्रिक टन धान फल्छ ।’ चैतेधान सहित करिब ५८ लाख टन उत्पादन हुने पौडेलको भनाइ छ । यस वर्ष १ खर्ब ३५ अर्ब १८ करोड ८० लाख रुपैयाँ बराबरको धान फल्ने भएको छ । गत आर्थिक वर्ष २९ अर्ब ३५ करोड रुपैयाँको चामल आयात भएको थियो । यो वर्ष धान उत्पादन वृद्धि भएपछि आयात घट्ने सम्भावना छ । गत वर्षको तुलनामा यो वर्ष १५ अर्ब १५ करोड रुपैयाँ बराबरको धेरै धान फलेको छ । सरकारले मसिना धानको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल २ हजार ४ सय ६० रुपैयाँ ५७ पैसा र मोटा धानको न्यूनतम मूल्य २ हजार ३ सय ३१ रुपैयाँ २२ पैसा निर्धारण गरेको थियो ।
–नागरिक दैनिक

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.