कात्तिक ७, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले पत्रकार जमाल खशोग्जीको हत्याबारेको साउदी अरेबियाको प्रतिक्रिया ‘हालसम्मकै नराम्रो ढाकछोप’ भएको बताएका छन्।
उनले हत्या योजनामा संलग्न जोकोही भए पनि ‘ठूलो समस्यामा पर्ने’ बताए। राष्ट्रपति ट्रम्पको त्यस्तो भनाइ आएको केही समयपछि विदेशमन्त्री माइक पोम्पेओले अमेरिकाले घटनामा संलग्न भएकाहरूलाई ‘सजाय दिने’ बताए। उनले सन्दिग्ध २१ जनाको भिसा अमेरिकाले रद्द गर्न लागेको पनि जानकारी दिए। अरब जगत्को आफ्नो एउटा महत्त्वपूर्व साझेदार साउदी अरेबियाप्रति कडा रवैया अपनाउन अमेरिकामाथि दबाब बढ्दो छ।
ह्वाइट हाउसमा पत्रकारहरूसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले भने, “उनीहरूको एकदम नराम्रो सोचाइ रहेछ, त्यो एकदम नराम्रो तरिकाले गरे र इतिहासकै त्यो सबैभन्दा नराम्रो ढाकछोप रह्यो।” साउदी अधिराज्यले खशोग्जीलाई के भएको हो भन्ने विषयमा विरोधाभाषपूर्ण विवरण दिँदै आएको छ। ५९ वर्षीय खशोग्जी जीवितै रहेको हप्तौँसम्म दावी गर्दै आएका रियादका अधिकारीहरूले अहिले आएर छाडा एजेन्टहरूले उनको हत्या गरेको स्वीकारेका छन्।

