कात्तिक ६, काठमाडौं । भारतले नेपाली रेडियोको प्रशारणमाथि रोक लगाएको छ । भारतले नेपाली रेडियोबाट सीमा सुरक्षामा खतरा देखिएको भन्दै प्रशारणमा रोक लगाएको हो ।
भारतको दैनिक अखबार ‘हिन्दूस्तान टाइम्स’ का अनुसार उत्तराखण्ड, उत्तर प्रदेश र बिहारसँग सीमा जोडिएका नेपाली क्षेत्रमा केही नेपाली रेडियोले भारतविरोधी प्रचार गरेका कारण प्रहरीले केबल अपरेटरलाई त्यस्ता रेडियो प्रशारण बन्द गराउन निर्देशन दिएको हो । तराईका जिल्लामा रहेका सामुदायिक र निजी रेडियो त्यसको मारमा परेका छन् ।
नेपालसँग सीमा जोडिएका उत्तराखण्ड, उत्तर प्रदेश, बिहारका केही जिल्लामा स्थानीय केबल अपरेटरले नेपाली रेडियो प्रशारण गर्दै आएका छन् । केही रेडियोले नेपाली गीतका साथै भारतसँगको सीमा विवाद, भारतीय सुरक्षा बलको ज्यादति, विगतमा भएको माओवादी जनयुद्धसम्बन्धी विभिन्न सामग्री प्रशारण गर्दै आएका कारण नेपाली रेडियो प्रशारणमा रोक लगाइएको उक्त अखबारमा उल्लेख छ । भारतीय गुप्तचर स्रोतले सीमा क्षेत्रका नेपाली रेडियोबाट भारतविरुद्ध प्रचारवाजी र माओवादको गुणगान गरेको भारत सरकारलाई रिपोर्ट गरेको थियो ।

