कात्तिक ६, धरान । करिब ५ दशकअघि नापी हुँदा फिल्डबुकमा मात्र दर्ता भएको तर विवादका कारण स्रेस्ता पुर्जा नबनेको बराह क्षेत्र नगरपालिका–२ स्थित बाइस बिघे क्षेत्रको जग्गा हत्याउन भूमाफिया लागिपरेका छन्।
इटहरीको कान्छी चोक हुँदै कोसी नदीमा बनेको नयाँ पुल निस्कने पक्की सडक २२ बिघे क्षेत्र भएर निर्माण भएपछि त्यहाँको जग्गा हत्याउन भूमाफिया सल्बलाएका हुन । स्थानीय राजनीतिक नेतृत्वको पनि यसमा मिलेमतो रहेको स्रोतको दाबी छ । २०२७ सालमा नापी हुँदा २२ जनाको नाममा फिल्डमा जग्गा दर्ता भएको हुनाले उक्त क्षेत्र २२ बिघे नामले प्रसिद्ध छ । २२ बिघे भनिए पनि कुल जग्गाको क्षेत्रफल ३९ बिघा छ । स्रेस्ता कायम नभएको र पुर्जा पनि नबनेको उक्त जग्गालाई वनले आफ्नो दाबी गर्दै आएको छ ।
अहिले सोही जग्गा हत्याउन भूमाफिया र हकवाला जग्गाधनी भनिएका व्यक्तिबीच ८ बुँदे सहमति भएको सर्तनामा कागज फेलापरेको छ । उक्त सर्तनामामा जग्गा छुट दर्तासम्बन्धी काम गर्दा लाग्ने सम्पूर्ण खर्च दोस्रो पक्ष (भूमाफिया) ले बेहोर्ने र उक्त खर्चमा पहिलो पक्ष (हकवाला जग्गाधनी) को कुनै दायित्व नरहने उल्लेख छ ।
जग्गा दर्ता गर्ने प्रयोजनका लागि कानुन व्यवसायी, वारेसलगायत खटाउँदा तथा जग्गादर्ता गर्दा लाग्ने सम्पूर्ण खर्च पनि दोस्रो पक्षले बेहोर्ने र पहिलो पक्षको नाममा जग्ग दर्ता भई पुर्जा प्राप्त हुनासाथ ४५ प्रतिशत जग्गा दोस्रो पक्ष वा दोस्रो पक्षले देखाएको मानिसको नाममा सम्बन्धित अड्डामा गई रजिष्ट्रेसन पास गरिदिनुपर्ने उल्लेख छ।

