कात्तिक ५, काठमाडौ । निर्मला प्रकरणमा एसपी र इन्स्पेक्टरबाहेक एक दर्जन प्रहरीमाथि पनि विभागीय कारबाही गर्न लागिएको छ । आठजना प्रहरी यसअघि नै निलम्बनमा परिसकेका छन् ।
एसपी विष्टसहित डिएसपीद्वय अंगुर जिसी र ज्ञानबहादुर सेटी, इन्स्पेक्टरद्वय एकेन्द्र खड्का र जगदीश भट्ट, सइद्वय रामसिंह धामी र हरिशरण धामी तथा प्रहरी जवान चाँदनी साउदलाई निलम्बन गरिएको थियो । उनीहरूसहित थप प्रहरीको गल्ती देखिएको छानबिन समितिका एक अधिकारीले बताए । गत १० साउनमा निर्मलाको बलात्कारपछि हत्या भएको थियो । घटनाको २५औँ दिनमा स्थानीय युवक दिलीपसिंह विष्टलाई प्रहरीले अभियुक्तका रूपमा सार्वजनिक गरेको थियो ।
तर, स्थानीय बासिन्दाले मानसिक रोगीलाई प्रहरीले अभियुक्त बनाएर वास्तविक अपराधी जोगाउन खोजेको भन्दै आन्दोलन गरेका थिए । आन्दोलन चर्कंदा प्रहरीले गोली चलाएपछि एकजनाको मृत्यु भएको भयो । नयाँपत्रिकाबाट

