कात्तिक ५, काठमाडौं । दुर्गा भवानीको मूर्ति सेलाउने क्रममा कपिलवस्तुको कृष्णनगरमा विवाद हुँदा कपिलवस्तु जिल्ला प्रशासन कार्यालयले हिजाे साँझदेखि निषेधाज्ञा (कर्फ्यु) लगाएको छ ।
युवाबीच झडप भएपछि हिजाे साँझ ५ बजेदेखि निषेधाज्ञा लागेको हो । दुर्गा बिसर्जनकाे क्रममा सो क्षेत्र तनावग्रस्त भएपछि जिल्ला प्रहरी कार्यालय तौलिहवाबाट थप सुरक्षाकर्मी पठाइएको हाे ।
शुक्रबारदेखि कृष्णनगर तनावग्रस्त बनेको थियो । विवाद तीन दिनसम्म पनि साम्य नभएपछि स्थिति नियन्त्रणमा लिन आइतबार साँझ ५ बजेबाट अनिश्चितकालीन कफ्र्यु लगाइएको हो । तीन दिनदेखि रोकिएको मूर्ति विर्सजन कार्य पनि अाइतबारै साँझ कडा सुरक्षाका साथ मूर्ति विर्सजन गरिएको प्रहरी नायब उपरीक्षक रवि रावलले जानकारी दिए ।
प्रमुख जिल्ला अधिकारी र सुरक्षा संयन्त्रको बैठकले जिल्लाको शान्ति सुरक्षा कायम गर्न स्थानीय प्रशासन ऐन २०२८ दफा ६ (क) अनुसार अर्को आदेश नभएसम्म कृष्णनगरदेखि उत्तरमा वडाया पोखरी, पश्चिममा झण्डी नगर शिर्शिहवा चोक, पूर्वमा सेमरा गाउँ, दक्षिणमा नेपाल–भारत दशगजा क्षेत्रमा निषेधाज्ञा लगाएको प्रजिअ अर्जुनप्रसाद पोखरेलले बताए ।
प्रजिअ पोखरेलका अनुसार सामान्य विषय भए पनि हिंसा भड्किने खतरा आएकाले ‘कफ्र्यु’ जारी गर्नुपरेको जनाए ।
उनका अनुसार दुई दिनसम्म पनि मिलाउने प्रयास असफल भएपछि अर्को आदेश नभएसम्मका लागि ‘कफ्र्यु’जारी गरिएको हो । अर्को सूचना जारी नहुँदासम्म कसैलाई घर बाहिर निस्कन, आवतजावत गर्न तथा भेला, जुलुस एवं हुलदङ्गा नगर्न आदेश दीएको छ ।

