आँखा नदेख्नेलाई नगर प्रमुखबाट मासिक रु दुई हजार

कार्तिक ४, नुवाकोट । नुवाकोटको बिदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डितले एक अशक्त व्यक्तिलाई मासिक रु दुई हजार उपलब्ध गराउने भनी उम्मेदवार रहँदा जनाएको प्रतिबद्धता कार्यान्वयनमा ल्याउनुभएको छ ।

प्रमुख पण्डितले विदुर नगरपालिका–९ लामाटारका दुवै आँखा नदेख्ने कृष्णबहादुर नेपालीलाई मासिक रु दुई हजार रकम आफू जनप्रतिनिधि भएपश्चात हालसम्मकाे अवधिको एकमुष्ट रुपमा उपलब्ध गराउनुभयो । उहाँले प्रमुख पदमा निर्वाचित भएर शपथ लिएपछि राज्यबाट जनप्रतिनिधिको हैसियतमा प्राप्त सुविधाबाट अहिलेसम्म १५ महीनाको रु तीस हजार दुवै आँखा नदेख्ने नेपालीलाई उपलब्ध गराउनुभयो ।

“यो सेवा आफू जनप्रतिनिधि रहुन्जेल राज्यबाट प्राप्त हुने सुविधाबाट कटौती गरी प्रदान गर्ने भनेर जनाएको प्रतिबद्धता कार्यान्वयनमा ल्याएको छु,” उहाँले भन्नुभयो, “अब निरन्तर मासिक रुपमा रकम उपलब्ध गराउनेछु ।”

जग्गा तथा सम्पत्ति केही नभएको नेपालीले वृद्ध बुबा र शारीरिकरुपमा अशक्त श्रीमतीको पालनपोषण गर्दै आउनुभएको छ । “सामाजिक सुरक्षा भत्ताबाट आउने पैसाले परिवार पाल्न गाह्रो थियो,” नेपालीले भन्नुभयो, “मेयरले दिनुभएको पैसाले चामल किन्न पुग्ने भएको छ ।”

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.