कात्तिक ३, काठमाडौं । दशैंमा मासुसहित चिल्लो पदार्थ खाँदा र मदिरा पिउँदा धेरैको स्वास्थ्य बिग्रिन्छ । चिकित्सकका अनुसार दशैंका बेला खानपिनमा ध्यान नदिँदा स्वस्थ मानिस पनि अस्पताल पुग्छन । त्यसैले खानपिनमा विशेष ध्यान दिन आवश्यक छ ।
दशैंका बेला उच्च रक्तचाप, मुटुरोग, मधुमेह र पेटजन्य समस्याका बिरामीको संख्या ह्वात्तै बढ्छ । अस्वास्थ्यकर मासुका कारण तत्कालै टाइफाइड, झाडापखाला, आउँ, पेट दुख्ने र फुल्ने समस्या पनि हुन्छ । दशैंका बेला एकै पटकमा धेरै मासु खाने प्रबृत्ति छ । जुन स्वास्थ्यका लागि राम्रो होइन । चिकित्सकका अनुसार एक छाकमा तीन–चार टुक्रा मात्रै मासु खानुपर्छ । यस्तै, कोक, फेन्टा र अन्य जुसभन्दा सफा पानी र हरियो तरकारीलाई पनि प्राथमिकता दिनुपर्छ । मासुको मात्र भर पर्नु हुँदैन ।
अनियन्त्रित खानपानले शरीरमा अतिरिक्त बोसो जम्मा भई मधुमेहसहित अन्य रोगलाई बढावा दिने भएकाले मासु खाँदा ध्यान दिनुपर्छ । रातो मासुमा स्याचुरेटेड फ्याट (स्वास्थ्यका लागि हानिकारक चिल्लो) हुन्छ । यसले शरीरमा बोसोको मात्रा बढाउँछ र उक्त बोसो रगतको नशा तथा धमनीमा गएर जम्न सक्छ । यसले कोलस्ट्रोल, उच्च रक्तचाप एवं मुटुको रोग निम्त्याउछ ।
दसैंमा मात्र नभएर अन्य समयमा पनि नेपाली पोलेको मासु, सेकुवा आदि बढी खान्छन । यस्ता मासुमा कार्सिनोजेनिक भनिने तत्व समावेश हुन्छ जसले पेट र आन्द्रासम्बन्धी क्यान्सर हुने सम्भावना बढाउँछ ।
मासु पकाएर धेरै समय फ्रिजमा राख्दा पनि ब्याक्टेरियाको संक्रमण हुन सक्छ । भण्डारणको उचित वातावरण नमिल्दा पनि कतिपय अवस्थामा मासु खानयोज्ञ नहुने चिकित्सकको भनाइ छ । चाडपर्वका नाममा जथाभावी खाएर अस्वस्थ हुनु स्वास्थ्य बाधा मात्र होइन आर्थिक क्षतिका साथै परिवारका सदस्यका लागि हैरानीसमेत हो । त्यसैले मासुजन्य खानेकुरा खाँदा साबधानी अपनाऊ ।

