सिक्टा छानबिन समितिले बुझायो प्रतिवेदन

असोज २७, काठमाडौं । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सिक्टा सिँचाइ आयोजनामा देखिएका समस्या समाधानका सम्बन्धमा गठित छानबिन समितिले आज प्रतिवेदन बुझाएको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनलाई आज छानबिन समितिका संयोजक एवं मन्त्रालयका सहसचिव सुशीलचन्द्र तिवारीले प्रतिवेदन बुझाएका हुन् । बाँके जिल्लाको करीब ४२ हजार हेक्टर कृषियोग्य जमीनमा सिँचाइ सुविधा उपलब्ध गराउने लक्ष्यका साथ निर्माणाधीन आयोजनाको मूल नहरमा समस्या देखिएपछि सरकारले छानबिन समिति गठन गरेको थियो । राप्ती नदीको बाँध निर्माण सम्पन्न भएसँगै मूल नहरको परीक्षणको क्रममा पानी सञ्चालन गर्दा नहरमा क्षति पुगेको थियो । निर्माण व्यवसायीबाट आयोजना हस्तान्तरण नभएको अवस्थामा देखा परेको समस्या समाधानको लागि ठेक्का सम्झौताअनुसार निर्माण व्यवसायीकै दायित्व हुने देखिएको छ । कूल रु २५ अर्ब लगानीको सो आयोजनाको कूल भौतिक प्रगति ५५ प्रतिशत छ ।

समस्याग्रस्त सम्भावित स्थानको भौगर्भिक अवस्था तथा माटोको सम्बन्धमा समेत विशेषज्ञसहितको संलग्नतामा सुक्ष्म प्राविधिक अध्ययन अनुसन्धान गरी आवश्यक सुधारका कार्य गराउन यसअघि नै मन्त्रालयले आवश्यक निर्देशन दिएको थियो ।माटोको अवस्था नहेरिकन नहर निर्माण गर्दा समस्या आएको भन्दै छानबिन समितिले निर्माण व्यवसायीले समेत केही बदमासी गरेको पाइएको प्रतिवेदन तयार पारेको छ । छानबिन समितिले तयार पारेको प्रतिवेदन केही दिनभित्रै सार्वजनिक गरिने ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ । प्रतिनिधिसभाको कृषि तथा जलस्रोत समितिले समेत सो आयोजनाको स्थलगत अध्ययन गरेको छ । यस्तै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत आयोजनामा देखिएको समस्याका बारेमा सुक्ष्म अध्ययन गरेको छ । रासस

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.