असोज २३, काठमाडौं । साझा यातायात र अनलाइनबाट बस टिकट काट्ने सुविधा प्रदान गर्दै आएको बससेवा डटकमबीच अनलाइन टिकेटिङ सम्झौता भएको छ ।
सम्झौतासँगै अबदेखि यात्रुहरूले साझा यातायातका टिकट अनलाइनबाटै काट्न सक्नेछन् । अनलाइन टिकेटिङ सम्बन्धी सम्झौतापत्रमा साझा यातायातका तर्फबाट कार्यकारी सञ्चालक भूषण तुलाधर र दियालो टेक्नोलोजिज प्रा।लि।का तर्फबाट प्रमुख कार्यकारी अधिकृत पि।आर। खनालले हस्ताक्षर गरे ।
साझा यातायातले दियालो टेक्नोलोजिजले प्रवद्धन गरेको बससेवा डटकमसँगको सहकार्यमा काठमाडौ उपत्यका बाहिर सञ्चालन हुने आफ्ना सुविधा सम्पन्न डिलक्स् बसहरूमा अनलाइनबाट टिकट काट्न सकिने प्रबन्ध मिलाएको हो । हाल साझा यातायातका बसहरू काठमाडौदेखि रूपन्देहीको भैरहवा र काठमाडौदेखि बाग्लुङका लागि छुट्दै आएका छन् । भैरहवा र बाग्लुङका लागि साझा यातायातको रात्रिसेवा बुधबारदेखि सुरू भएको हो ।

