क्याम्पसको आम्दानी कर्मचारीको पोल्टामा

असोज २४, काठमाडौं । जनकपुरको रामस्वरूप रामसागर बहुमुखी क्याम्पसको जग्गाबाट हुने आम्दानी सीधै कर्मचारीको खल्तीमा जाने गरेको छ । झन्डै ९० बिघा जग्गाको कमाइ वर्षौँदेखि क्याम्पसको खातामा दाखिल भएको छैन ।

जनकपुरका दाजुभाइ रामस्वरूप र रामसागर साहले क्याम्पसका लागि धनुषाको क्षीरेश्वरनाथ नगरपालिकाअन्तर्गत महेन्द्रनगर सखुवामा ५७ बिघा र नन्दुपट्टीमा २२ बिघा १४ कट्ठा जग्गा क्याम्पसलाई दान दिएका थिए । त्यसैगरी, जानमुन सिंहले धनुषाको दुरबकोट हथलेटवामा चार बिघा १३ कट्ठा, रामचन्द्र साहले जनकपुरमा सात कठ्ठा १६ धुर, तुलसी गिरीले सात कठ्ठा १६ धुर र गुठी संस्थानले पाँच बिघा जग्गा क्याम्पसलाई दान दिएका थिए । तर, जग्गाको आम्दानी क्याम्पसमा दाखिला नभएको वर्षौँ भइसकेको छ ।

जग्गाको रेखदेखको जिम्मा क्याम्पसको सामान्य प्रशासन शाखालाई दिइएको छ । सो शाखाले नै भाडामा दिइएको जग्गाको अनुगमन गर्ने र आम्दानी लिने जिम्मेवारी पाएको छ । तर, शाखा इन्चार्ज विजयकुमार सिंहले जग्गाबाट बर्सेनि कति आम्दानी हुन्छ भन्ने आफूलाई समेत थाहा नभएको बताए । तर, क्याम्पस प्रमुख विजयकुमार लाभले ती जग्गामा केही कर्मचारीकै हालिमुहाली रहेको बताए । क्याम्पस प्रमुख लाभले भने, ‘जग्गाको विषयमा मलाई केही थाहा छैन, मैले देखेको पनि छैन, कति आम्दानी आउँछ, थाहा पनि छैन ।’ सामान्य प्रशासन शाखाकै विजयकुमार सिंह र जगदीश साहले सो जग्गाको रेखदेख गर्दै आएको बताउँदै उनले जग्गाबाट आउने आम्दानी उनीहरूले नै बाँडीचुँडी खाएको बताए ।

सामान्य प्रशासन शाखा इन्चार्ज सिंहका अनुसार ९० बिघामध्ये करिब पाँच बिघा जमिन नदीले कटान गरेको छ । त्यस्तै, खेतीयोग्य नभएको पाँच बिघामा आँपको बगैँचा छ । गुठी संस्थानले दिएको पाँच बिघा भने क्याम्पसले प्रयोग गरेको छ । बाँकी जग्गामा करिब चार सयजनाले खनजोत गर्दै आएका छन् । तीमध्ये करिब ५० जनाले मात्रै कुतका रूपमा केही धान क्याम्पसलाई दिने गरेका छन् । बाँकीले धाकधम्की देखाई कुत नै नबुझाउने गरेको सामान्य प्रशासन शाखाका इन्चार्ज विजयकुमार सिंहले बताए । क्याम्पसको करिब ५० हजार मनभन्दा बढी धान अझै विभिन्न व्यक्तिहरूले राखेको सिंहको भनाइ छ । उनले भने, ‘कुत असुल गर्न क्याम्पससँग क्षमता छैन, ताकेता गर्दा ज्यान नै मार्ने धम्की आउँछ, यस्तोमा कसरी असुल हुन्छ रु’ क्याम्पसका कुनै पनि प्रमुखले यो विषयमा चासो नदेखाएको सिंहले आरोप लगाए । –नयाँपत्रिका

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.