असोज २३, काठमाडौं । प्रहरीले चाडवाडको मुखमा चोरी, डकैतीका घटना बढ्न सक्ने भन्दै सुरक्षा संयन्त्र बढाइरहेका बेला काठमाडौंस्थित एक घर नै फोडेर ५९ तोला सुन चोरी गरिएको छ ।
काठमाडौं महानगरपालिका–१४ सुनारगाउँकी कमला सुवेदीको घर फोडेर ५९.५ तोला सुनका गहना र २० हजार नगद चोरी भएको हो । सोमबार घरमा कोही नभएको मौका पारेर सुवेदीको घरबाट करीब ३५ लाख ६७ हजार ५ सय रुपैयाँ बराबरको गहना र नगद चोरी भएको काठमाडौं प्रहरीले जनाएको छ । फरार चोरहरुको खोजी गर्नुका साथै घट्नाबारे अनुसन्धान भइरहेको बताइएको छ । यसैबीच, सुनको सिक्री लुटपाट गरेको अभियोगमा सोलुखुम्बु चौरीखर्क बस्ने २० वर्षीय सनम शेर्पालाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं महानगरपालिका–२२ न्युरोडबाट ओमबहाल जाँदै गरेका सञ्जय मानन्धरले लगाएको अन्दाजी १।५ तोलाको सुनको सिक्री लुटी भाग्ने क्रममा महानगरीय प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरी टोलीले उक्त सिक्रीसहित शेर्पालाई पक्राउ गरेको हो ।

