राष्ट्रपति कार्यालयको नयाँ भवन बन्ने

असोज २३, काठमाडौं । राष्ट्रपति कार्यालय नयाँ भवन निर्माणका लागि डिजाइन तथा लागत इस्टिमेटको काम अन्तिम चरणमा पुगेको छ ।

हाल राष्ट्रपति कार्यालय रहेको शीतल निवासको जग्गा र राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जको जग्गामा नयाँ र अत्याधुनिक राष्ट्रपति कार्यालय तथा राष्ट्रपति निवास निर्माण हुन लागेको हो । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सहसचिव राजुमान मानन्धरले राष्ट्रपति कार्यालयमा हुनुपर्ने सम्पूर्ण पूर्वाधार र संरचनाहरू अहिलेको राष्ट्रपति कार्यालयमा कमी देखिएकोले अत्याधुनिक संरचनासहितको नयाँ राष्ट्रपति कार्यालय निर्माण हुन लागेको जानकारी दिनुभयो ।

राष्ट्रपति कार्यालयको नयाँ भवन निर्माणका लागि मन्त्रिपरिषद्ले समेत निर्णय गरिसकेको जनाइएको छ । मन्त्रिपरिषद्को निर्णय अनुसारको राष्ट्रपति कार्यालय निर्माण प्रक्रिया यथाशीघ्र सुरु गर्न राष्ट्रपति कार्यालयबाट निर्देशन समेत आइसकेको जानकारी उहाँले दिनुभयो । मन्त्रिपरिषद्को निर्णयअनुसार राष्ट्रपति कार्यालयको २०७ रोपनी र राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको ११४ रोपनी जग्गामा राष्ट्रपति कार्यालयका लागि आवश्यक पर्ने सम्पूर्ण पूर्वाधार र संरचनासहितको कार्यालय निर्माण गरिने छ । अबको डेढ वर्षभित्र अहिलेको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको जग्गा खाली हुने जानकारी समेत उहाँले दिनुभयो ।

नयाँ राष्ट्रपति भवन निर्माणका लागि परामर्शदाता समेत छनौट भइसकेको जानकारी सहसचिव मानन्धरले दिनुभयो । उहाँका अनुसार परामर्शदाताले अहिले ‘डिजाइन’ र लागत इस्टिमेटको काम गरिरहेको छ । विल्डिङ डिजाइन अथोरेटी (बिडीए) लाई प्रस्तावित नयाँ राष्ट्रपति कार्यालयको परामर्शदाताको रूपमा चयन गरिएको जानकारी समेत उहाँले दिनुभयो । राष्ट्रपति कार्यालय निर्माण प्रक्रिया सुरु भइसकेको जानकारी दिंदै उहाँले ‘डिजाइन’ र लागत इस्टिमेटको काम सम्पन्न भइसकेपछि प्रस्तावित कार्यालयको ‘मोडेल’, लागत अनुमान र निर्माण अवधिबारे यकीन हुने बताउनुभयो । प्रस्तावित नयाँ राष्ट्रपति कार्यालयमा विदेशी पाहुनालाई सम्मान गारद प्रदान गरिने ठाउँसमेत निर्माण गरिने जानकारी उहाँले दिनुभयो ।
नौ महिनाअघि राष्ट्रपति कार्यालयका तत्कालीन सचिव, राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र भवन विभागका प्रतिनिधिबीचको छलफलले नयाँ र अत्याधुनिक राष्ट्रपति कार्यालय निर्माण गर्ने अवधारणा ल्याएको जानकारी सहसचिव मानन्धरले दिनुभयो ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.