काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री अजयबाबु शिवाकोटीलाई नेपाल प्रहरीको साइबर ब्युरोले बोलाएको छ । काठमाडौं बाहिर धार्मिक यात्रामा रहेका शिवाकोटीलाई फोन सम्पर्क गरी साइबर ब्युरोमा बोलाइएको हो ।
उनले आफू साइबर ब्युरोमा जाने जानकारी गराएका हुन् । बालेन सरकारले तर्साएर सत्ता चलाउन खोजिरहेको भन्दै नबिराउनु नडराउनु भनेझैँ आफू काठमाडौं बाहिर रहेको र काठमाडौं फर्कँदै गरेको जानकारी गराएका हुन् ।
उनले सामाजिक सञ्जालमार्फत बिहीबार बिहान मात्रै सरकारले दिन खोजेको भय र भ्रमले विचलित नहुने बताएका छन् । उनले आफूलाई प्रहरी लगाएर खोज्न नपर्ने भन्दै आउँदै गरेको बताए । सहमहामन्त्री शिवाकोटीले लेखेका छन्, ‘सरकार तिम्रो भय र पारेको भ्रमले विचलित हुन्न, प्रहरी लगाएर खोज्नु पर्दैन, काठमाडौं आउँदै छु ।’
साइबर ब्युरोले नेता शिवाकोटीलाई पत्रकार रोशन खड्काको उजुरीका आधारमा बोलाएका हो । उनले सामाजिक सञ्जालमा खड्काका कुरा किन पत्याउनु भन्दै प्रतिपक्षले जिम्मेवार ढङ्गले उठाएका प्रश्नहरूको सरकारले जिम्मेवार ढङ्गले जवाफ देओस् भनी लेखेका थिए । उनले बिचौली भनिएका प्रहरीको हिरासतमा रहेका इनम सापकोटाको प्रहरीलाई दिएको भनिएको बयानको अडियो रेकर्डका बारेमा समेत पनि प्रतिक्रिया दिएका थिए ।

