असोज २१, काठमाडौं । नेपाल प्रहरीका महानिरिक्षक (आईजीपी) सर्वेन्द्र खनालले केही व्यक्तिको गलत कार्यका कारण सिङ्गो संगठन नै बदनाम भएको बताएका छन् । प्रहरी दिवस रनिङ कप पुरुष भलिबल प्रतियोगिताको अवसरमा आयोजित कार्यक्रममा खनालले यस्तो बताएका हुन् ।
‘‘दुईचार व्यक्तिको गलत कार्यका कारण संगठन नै बदनाम हुन पुग्यो, संगठनमा लागेका कीराहरु टिपेर फाल्छु,’’ खनालले भने । नेपाल प्रहरी व्यावसायिक र अनुशासित संगठन रहेको बताउँदै खनालले नागरिक र सरकारको भरोसा टुट्न नदिने समेत बताए । आईजीपी खनालले भने, ‘‘जनताको सुख, दुःखको साथी प्रहरीप्रति नागरिकको विश्वास फेरि जाग्छ, हामीले जगाउनैपर्छ । सत्यसेवा सुरक्षणम्को मूल मन्त्रलाई व्यवहारमै लागु गरेर पूर्ण व्यावसायिक बन्ने प्रण गरौं ।’’ बदलिँदो परिवेशमा प्रहरीको व्यवहार पनि परिवर्तन गर्नुपर्ने बताउँदै उनले कमी कमजोरीबाट पाठ सिक्दै अगाडि बढ्न प्रहरी अधिकृत तथा जवानहरुलाई निर्देशन पनि दिए ।
‘‘निरास भएर जागिर छाड्ने, अन्यत्र भविष्य खोज्ने होइन, प्रहरी संगठन राम्रो बनाएर सबैको भविष्य सुन्दर र सुनिश्चित गर्नेतर्फ कदम चालौं,’’ खनालले भने । अर्को प्रसंगमा आईजीपी खनालले प्रहरीले खेलकुदलाई उच्च प्राथमिकतामा राखेको बताए ।

