काठमाडाैं, २५ असाेज । आज बडादसैँको पहिलो दिन अर्थात् आश्विन शुक्ल प्रतिपदालाई घटस्थापना भनिन्छ। यस दिनदेखि नेपालीहरूको महान् चाड बडादसैँ औपचारिक रूपमा सुरु हुन्छ। यस दिनको धार्मिक, सांस्कृतिक र पौराणिक महत्त्व धेरै ठुलो छ।
पौराणिक कथा अनुसार, महिषासुर नामका एक शक्तिशाली राक्षसले स्वर्ग र पृथ्वीमा ठुलो आतंक मच्चाएका थिए। उनको अत्याचारबाट देवताहरू समेत त्रसित भएर भाग्नुपरेको थियो। राक्षसको अन्त्यका लागि ब्रह्मा, विष्णु र महेश (शिव) लगायतका प्रमुख देवताहरूले आफ्नो तेज (ऊर्जा) मिलाएर एक महाशक्तिशाली नारी शक्तिको सिर्जना गरे, जसलाई माता दुर्गा भनियो। माता दुर्गा र महिषासुरबीच लगातार नौ दिनसम्म भीषण युद्ध भयो। नौ रातको यो युद्धपछि दसौँ दिनमा देवीले महिषासुरको वध गरिन् र सत्य, न्याय तथा धर्मको विजय भयो। यही नौ दिनको लडाइँको सम्झनामा नवरात्रभर देवीको आरधाना र पूजा गर्ने चलन बसेको हो। धर्मशास्त्र अनुसार यस दिन माता दुर्गा स्वर्गलोकबाट पृथ्वीलोकमा आगमन गर्नुहुन्छ भन्ने धार्मिक विश्वास रहेको छ।
अर्को ऐतिहासिक तथा पौराणिक ग्रन्थ रामायणका अनुसार त्रेतायुगमा भगवान् रामले लंकाका राजा रावणसँग युद्ध गर्न जानुअघि विजय प्राप्त गर्नका लागि आश्विन शुक्ल प्रतिपदाकै दिन देखि चण्डी पाठ र नवरात्र व्रत सुरु गरेका थिए । भगवान् रामले नौ दिनसम्म विधिपूर्वक देवीको पूजा गरेपछि दशमीको दिन माता दुर्गाबाट विशेष शक्ति र आशीर्वाद प्राप्त गरी रावणमाथि विजय हासिल गरेकाे विश्वास गरिन्छ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्षको बडादशैँ अन्तर्गत जमरा राख्ने (घटस्थापना) शुभ साइत बिहान ११ बजेर ४७ मिनेटमा उत्तम रहेको छ। तर, घटस्थापनाका दिन चित्रा नक्षत्र र वैधृति योग परेकाले पूजा तथा जमरा राख्नुपूर्व तिनको शान्ति (दोष निवारण) गर्नुपर्ने समितिले जनाएको छ।
यस दिन घरको पूजाकोठा वा दसैँघरमा पवित्र बालुवा र माटो मिसाएर उसमा जौ, गहुँ, मकै वा धान छर्ने गरिन्छ। यसलाई ‘जमरा’ भनिन्छ, जुन विजयादशमीका दिन टीका लगाउँदा मान्यजनको हातबाट प्रसादको रूपमा लगाइन्छ। घटस्थापनाका दिन पूजाकक्षमा जलले भरिएको कलश (घट) स्थापना गरिन्छ। यस कलशमा गणेश, वरुणादी देवता र नवदुर्गाको आह्वान गरी पूजा गरिन्छ। कलशको माथि आँप वा अशोकको पालव (पल्लव) राखेर त्यसमाथि नरिवल राखिन्छ। घडालाई ब्रम्हा, विष्णु र महेशसहित सम्पूर्ण देवी-देवता, सागर, सप्तद्वीप र तीर्थहरूको प्रतीक मानिन्छ। यसमा जल राखेर तामा वा माटो माथि जौ छर्ने ठाउँ बनाइन्छ। यस दिनदेखि नवरात्रभरि (नौ रात दस दिन) शक्ति स्वरूपा नवदुर्गा भवानी (शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्री, महागौरी र सिद्धिदात्री) को विधिपूर्वक आह्वान र आरधाना गरिन्छ।
घटस्थापनामा उमार्ने गरिने जौको जमरालाई आयुर्वेदमा औषधीय गुणले युक्त मानिन्छ। जमराको रस स्वास्थ्यका लागि अत्यन्त लाभदायक मानिन्छ, जसले शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढाउन सहयोग गर्छ। महान चाडपर्वको सुरुआतसँगै घर टोल सरसफाइ गर्ने, पूजापाठ र सकारात्मक वातावरण सिर्जना गर्ने परम्पराले मानसिक ताजगी र सामाजिक सद्भाव अभिवृद्धि गर्न महत्त्वपूर्ण भूमिका खेल्छ। घटस्थापनाले व्यक्तिभित्र रहेका नकारात्मक प्रवृत्ति, अहङ्कार र विकारहरूलाई हटाएर सदाचार, शक्ति र सकारात्मक ऊर्जा प्राप्त गर्ने प्रेरणा प्रदान गर्दछ।
नौ दिनको यो अवधिलाई साधकहरूले आत्मिक शुद्धता, संयम र मानसिक एकाग्रताको समयको रूपमा लिन्छन्। यस अवधिमा मन, वचन र कर्मले शुद्ध भएर देवीको उपासना गर्नाले घरमा सुख, शान्ति र समृद्धि प्राप्त हुने धार्मिक विश्वाश छ।

