न्यूज कारखाना
रौतहट १७ असोज। भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी एक महिनाभन्दा बढी समयदेखि बेपत्ता रहेका रौतहटका एक सैनिक जवानको हिन्दु परम्पराअनुसार कुशको शव बनाएर दाहसंस्कार गर्न लागिएको छ।
रौतहटको मौलापुर नगरपालिका–७ सगैयाका बैधनाथ साह कानुका २२ वर्षीय छोरा अभिषेक गुप्ता नेपाली सेनाको श्री शेरगण कार्यालय, रसुवामा जवान पदमा कार्यरत थिए।
गत भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि गुप्ता बेपत्ता भएका थिए। बाढीमा बेपत्ता भएपछि परिवारले लामो समयसम्म उनको खोजी तथा सकुशल फर्किने आशामा प्रतीक्षा गर्दै आएका थिए।
तर, एक महिनाभन्दा बढी समय बितिसक्दा पनि उनको अवस्था पत्ता लाग्न नसकेपछि पीडित परिवारले आज असोज १७ गते हिन्दु धार्मिक परम्पराअनुसार कुशको शव आकृति बनाएर दाहसंस्कार गर्न लागेको हो।
परिवारजनका अनुसार लामो समयसम्म खोजी गर्दा पनि कुनै जानकारी नआएपछि धार्मिक विधिअनुसार अन्तिम संस्कार गर्ने निर्णय गरिएको हो। अभिषेक नेपाली सेनामा कार्यरत रहँदा भोटेकोशी क्षेत्रमा आएको बाढीका क्रममा बेपत्ता भएका थिए। उनको शव हालसम्म फेला नपरे पनि परिवारले हिन्दु संस्कारअनुसार अन्तिम बिदाइ गर्न लागेको हो।
अन्तिम संस्कारको क्रममा नारायाण दल गण का प्रमुख सेनानी बिश्वास बिष्टको नेतृत्वमा गएको सेनाकाे टोलीले सलामी अर्पण गरेको थियो।

