संघीय संसदका पाँच विषयगत समितिको बैठक आज बस्दै

काठमाडौं, १६ असोज । संघीय संसदका विभिन्न पाँचवटा विषयगत समितिको बैठक आज बस्दैछ।

आज प्रतिनिधि सभाका दुई र राष्ट्रिय सभाका तीन समितिका बैठकहरू तय भएका छन्। प्रतिनिधि सभातर्फ अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति तथा सार्वजनिक लेखा समितिको बैठक बस्दैछ। बिहान ९ बजे बस्ने अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा नेपाल वायुसेवा निगमको हालको अवस्था र देखिएका चुनौतीहरूबारे छलफल गर्ने कार्यसूची छ। त्यस्तै, बिहान ९ बजे नै बस्ने सार्वजनिक लेखा समितिमा बेरुजु छलफल उपसमितिको कार्यप्रगति र स्थलगत निरीक्षणसम्बन्धी विषयमा छलफल हुने समितिले जनाएको छ।

यसैगरी राष्ट्रिय सभातर्फ संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति, विधायन व्यवस्थापन समिति र विकास, आर्थिक मामिला तथा सुशासन समितिका बैठकहरू बस्दैछन्। बिहान ११ बजे बस्ने संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा कर्णाली प्रदेश सभाको अर्थ तथा प्राकृतिक स्रोत समितिसँगको समन्वयका विषयमा छलफल हुनेछ। बिहान ११ बजे नै तय भएको विधायन व्यवस्थापन समितिको बैठकमा भने आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रतिवेदनको मस्यौदामाथि छलफल गर्ने कार्यसूची रहेको छ।

त्यस्तै, बिहान १०:३० बजे बस्ने विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बजारमा दैनिक उपभोग्य वस्तुहरूको सहज आपूर्ति व्यवस्थापन तथा अनुगमनबारे छलफल हुने समितिले जनाएको छ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.