संघ संस्था नवीकरण नगरे संस्था खारेज गर्ने चेतावनी

असोज १३, जनकपुरधाम । महोत्तरी जिल्लामा दर्ता संघ संस्थाको नवीकरण नगरिए दर्ता खारेज गर्ने जिल्ला प्रशासन कार्यालयले चेतावनी दिएको छ ।

जिल्ला प्रशासन कार्यालयले दुई वर्षभन्दा बढी समयदेखि संस्था नवीकरणका लागि सम्पर्कमा नआएका संस्थालाई दुई महिनाभित्र नवीकरण तथा अभिलेख अद्यावधिक गर्न सूचना जारी गर्दै यस्तो चेतावनी दिएको हो । महोत्तरीमा हालसम्म संस्था दर्ता ऐन, २०३४ तथा संस्था दर्ता नियमावली, २०३४ बमोजिम २ हजार ३२ वटा संस्था दर्ता रहेको प्रशासन कार्यालयले जनाएको छ । दर्ता भएका मध्ये नियमित रूपमा नवीकरण हुने संस्थाको संख्या अत्यन्त न्यून रहेको प्रशासन कार्यालयको भनाई छ ।

पटकपटक आएको बाढी तथा कार्यालय भवन स्थानान्तरणका क्रममा कतिपय संस्थाका विधानसहितका सक्कल मिसिल नष्ट वा हराएको जनाउंदै जिल्ला प्रशासन कार्यालयले त्यसकारण दर्ता भएका संस्थाको वास्तविक अवस्था पहिचान गरी अभिलेखलाई व्यवस्थित र अद्यावधिक गर्नुपर्ने आवश्यकता देखिएकाले नवीकरण निर्देशन दिइएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जनाएको छ । उनका अनुसार संस्था स्थापना भए पनि लामो समयसम्म नवीकरणका लागि सम्पर्कमा नआउँदा संस्थाले आफ्नो उद्देश्यअनुसार काम गरे–नगरेको विषयमा समेत अन्योलता भएको छ । साथै नवीकरण दस्तुरबापत सरकारलाई प्राप्त हुने राजस्वसमेत समयमा संकलन हुन नसकेको सूचनामा भनिएको छ ।

तोकिएको अवधिभित्र नवीकरण तथा अभिलेख अद्यावधिकका लागि सम्पर्कमा नआउने संस्थामाथि प्रचलित कानुनबमोजिम खारेजीलगायतका कानुनी प्रक्रिया अघि बढाइने सूचनामा भनिएको छ । नवीकारणका लागि संस्थालाई दर्ता प्रमाणपत्र तथा विधान, साधारण सभाको माइन्युट, नवीकरण गर्ने कार्यसमितिको निर्णयसहितको निवेदन, सम्बन्धित आर्थिक वर्षको लेखापरीक्षण प्रतिवेदन, स्थायी लेखा नम्बर ९प्यान० सहितको कर चुक्ता प्रमाणपत्र, विगतमा सम्पन्न कामको प्रगति विवरण तथा आगामी कार्ययोजना र सम्बन्धित स्थानीय तहको नवीकरण सिफारिस सहितका कागजात पेस गर्नुपर्नेछ ।

कार्यालयले अभिलेख अद्यावधिक तथा नवीकरणको प्रक्रिया पूरा नभएसम्म नयाँ संस्था दर्ता गरी प्रमाणपत्र जारी गर्ने कार्यसमेत रोकिएको जनाएको छ । नियमानुसार अद्यावधिक तथा नवीकरणको काम सम्पन्न भएपछि मात्रै नयाँ संस्था दर्ताको प्रक्रिया पुनः सञ्चालन गरिने प्रशासन कार्यालयले स्पष्ट पारेको छ ।– सुभाष कायस्थ, न्यूजकारखाना

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.