भोटेकोशी बाढीपछि पर्यटन पुनरुत्थानमा प्रदेशको पहल

असोज २, काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित पर्यटन क्षेत्रको पुनरुत्थान र आगामी विश्व पर्यटन दिवसको तयारीबारे बागमती प्रदेश पर्यटन कार्यालय, काठमाडौंले सरोकारवालासँग अन्तरक्रिया गरेको छ।

प्रदेश पर्यटन कार्यालयका प्रमुख पवनकुमार पोख्रेलको अध्यक्षतामा अनामनगरस्थित किम्ची रेस्टुरेन्टमा भएको कार्यक्रममा उद्योग, पर्यटन, श्रम तथा यातायातमन्त्री मा।राजेन्द्र प्रजापतिले बाढी प्रभावित क्षेत्रमा मुख्यमन्त्रीसहित प्रदेशका मन्त्रीहरू पुगेर यातायात सञ्चालन, तुइन व्यवस्था र राहतका काम अघि बढाइएको बताए। बाढीबाट क्षतिग्रस्त पर्यटन पूर्वाधार र व्यवसायको पुनर्निर्माणका लागि संघीय सरकारसँग पहल भइरहेको बताउँदै मन्त्री प्रजापतिले बाढीपीडित तथा अभिभावकविहीन विद्यार्थीलाई कक्षा १२ सम्म निःशुल्क शिक्षा दिने प्रदेश सरकारको निर्णय भएको समेत जानकारी दिए। कार्यक्रममा सहभागीहरूले क्षतिको यथार्थ मूल्याङ्कन, पर्यटन पूर्वाधार पुनर्निर्माण, पर्यटक सुरक्षा, पूर्वसूचना प्रणाली र प्रभावित व्यवसायीलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए।

विश्व पर्यटन दिवसलाई विपद्पछिको पर्यटन पुनरुत्थान र सुरक्षित पर्यटनको सन्देश दिने अवसरका रूपमा उपयोग गर्ने विषयमा समेत छलफल भएको हो। सहभागीहरूले प्रदेश, स्थानीय तह, निजी क्षेत्र र समुदायबीच समन्वय गर्दै स्थानीय उत्पादन, संस्कृति र रोजगारीलाई पर्यटन पुनरुत्थानसँग जोड्नुपर्ने सरोकारवाला पर्यटन व्यवसायी संघ संस्थाका प्रतिनिधिहरूले बताए। कार्यक्रम समापन गर्दै पोखरेलले विपद्का बेला सरोकारवालाको सुझाव संकलन गरी योजना बनाउनु अन्तरक्रियाको मुख्य उद्देश्य रहेको बताए। उनले मन्त्रालयसँग उपलब्ध क्षतिको तथ्यांक प्रस्तुत गर्दै प्रभावित पर्यटन क्षेत्रको क्षति क्रमशः सम्बोधन गर्दै पुनरुत्थान अघि बढाइने प्रतिबद्धता जनाए।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.