काठमाडौंमा मानव संसाधन विकाससम्बन्धी दुईदिने कार्यशाला

भदौ २५, काठमाडौं । आर्थिक आत्मनिर्भरता तथा सशक्तीकरणका लागि मानव संसाधन विकास सम्बन्धी दुईदिने अन्तर्राष्ट्रिय कार्यशाला काठमाडौँमा सम्पन्न भएको छ।

कार्यशाला सामाजिक कार्य संघ नेपाल र एसोसिएसन अफ इन्टरनेसनल सोसल वर्कर्सको संयुक्त आयोजना तथा तोशिबा इन्टरनेसनल फाउन्डेसनको सहयोगमा सञ्चालन भएको हो।

कार्यशालाको शुरूआत जेन–जी पुस्ताका क्रममा ज्यान गुमाएका युवाप्रति श्रद्धाञ्जली तथा स्मरण गरिएको थियो। देश र समाजका लागि आफ्नो आवाज उठाउने क्रममा ज्यान गुमाएका युवाहरूको योगदान र बलिदानप्रति सम्मान व्यक्त गर्दै सहभागीहरूले मौनधारणसमेत गरेका थिए।

कार्यशालामा मानव संसाधन विकास, आर्थिक आत्मनिर्भरता, महिला सशक्तीकरण, सामाजिक कार्यको व्यावसायिक विकास तथा अन्तर्राष्ट्रिय सहकार्यलगायतका विषयमा विभिन्न ज्ञानमूलक तथा अन्तरक्रियात्मक सत्रहरू सञ्चालन भएका थिए।

विभिन्न सत्रमा डा. टीकाराम गौतम, शीला थापा, सगरिका भट्ट, डा. मृगेन्द्र कार्की, सरोज गिरी र डा. शुक्रराज अधिकारी लगायतका विज्ञ तथा विभिन्न क्षेत्रका सहजकर्ताहरूले आफ्ना ज्ञान, अनुभव र विचार प्रस्तुत गरेका थिए।

कार्यशालाको समापन समारोह काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनीता डंगोलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। कार्यवाहक प्रमुख डंगोलले सम्पूर्ण सहभागीहरूलाई प्रमाणपत्र वितरण गर्दै सामाजिक कार्यको आफ्नो विद्यार्थी जीवन तथा अनुभवसमेत साझा गरेकी थिइन्।

सम्बोधनका क्रममा उनले सामाजिक कार्यले व्यक्ति तथा समुदायले सामना गर्ने चुनौतीलाई शक्तिमा रूपान्तरण गर्न महत्वपूर्ण भूमिका खेल्ने बताइन्। सामाजिक कार्यकर्ताहरूले कठिन परिस्थितिमा रहेका व्यक्ति तथा समुदायसँग काम गर्दै उनीहरूमा आशा, आत्मविश्वास र परिवर्तनको सम्भावना सिर्जना गर्ने उनको भनाइ थियो।

कार्यशालाको समापन मन्तव्य राख्दै सामाजिक कार्य संघ नेपालका अध्यक्ष प्रतीक शर्मा लामिछानेले आगामी दिनमा यस्ता कार्यक्रमलाई अझ व्यापक बनाउँदै अन्तर्राष्ट्रिय सहकार्य र साझेदारीलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे। उनले विभिन्न देश तथा संस्थाबीच ज्ञान, सीप र अनुभवको आदान–प्रदानमार्फत सामाजिक कार्यको पेशालाई थप सुदृढ र व्यावसायिक बनाउन आवश्यक रहेको बताए।

कार्यशालाले सामाजिक कार्यको क्षेत्रमा मानव संसाधन विकास, आर्थिक आत्मनिर्भरता, सशक्तीकरण तथा अन्तर्राष्ट्रिय सहकार्यलाई थप मजबुत बनाउने दिशामा महत्वपूर्ण योगदान पुर्‍याएको आयोजकको दाबी छ।

कार्यशाला आगामी दिनमा सामाजिक कार्यको पेशागत विकास, क्षमता अभिवृद्धि र अन्तर्राष्ट्रिय सहकार्यलाई थप प्रभावकारी बनाउने साझा प्रतिबद्धतासहित सम्पन्न भएको छ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.