भदौ २४, काठमाडौं । गोकर्णेश्वर नगरपालिका–८ स्थित लिबर्टी एकेडेमीको आयोजनामा प्रथम ‘लिबर्टी भोकल म्यानिया’ सांगीतिक प्रतियोगिता सम्पन्न भएको छ।
विद्यार्थीमा रहेको सांगीतिक प्रतिभा पहिचान तथा प्रोत्साहन गर्ने उद्देश्यले आयोजित प्रतियोगिताको प्रारम्भिक चरणमा ८० जना विद्यार्थी सहभागी थिए। तीमध्ये उत्कृष्ट प्रदर्शन गर्ने १७ जना अन्तिम प्रतिस्पर्धाका लागि छनोट भएका थिए। कडा प्रतिस्पर्धाका बीच मिङ्मा लामा प्रथम, गौरव तामाङ द्वितीय र लक्ष्मी तामाङ तृतीय हुन सफल भएका छन्।

लिबर्टी एकेडेमीका प्रिन्सिपल ओमप्रसाद ढकालको सभापतित्वमा सम्पन्न कार्यक्रममा जिग्मे मिडिया तथा डम्फु सेलोका निर्देशक सूर्य तामाङ प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो।प्रतियोगिताको निर्णायक मण्डलमा ‘द भ्वाइस अफ नेपाल सिजन–५’ का विजेता गायक दीपक लामा र संगीतकार जिग्ने दोङ रहनुभएको थियो।

कार्यक्रममा प्रमुख अतिथि सूर्य तामाङले विद्यार्थीहरूको सांगीतिक प्रतिभाको प्रशंसा गर्दै विद्यालय तहबाटै प्रतिभाको पहिचान र प्रवर्द्धन गर्नुपर्नेमा जोड दिनुभयो। सो अवसरमा उहाँले प्रथम स्थान हासिल गर्ने मिङ्मा लामा र द्वितीय हुने गौरव तामाङलाई राष्ट्रियस्तरको डम्फु सेलो सांगीतिक प्रस्तुतिमा सहभागी गराउने विशेष घोषणा गर्नुभयो।

कार्यक्रमका विशिष्ट अतिथि एवं गोकर्णेश्वर नगरपालिका–८ का वडा सदस्य सुमन लामाले लिबर्टी एकेडेमी शिक्षा क्षेत्रमा मात्र नभई खेलकुद, संगीत र नृत्यलगायत अतिरिक्त क्रियाकलापमा समेत निरन्तर सक्रिय रहेको बताउनुभयो। यस्ता गतिविधिले विद्यार्थीको प्रतिभा र व्यक्तित्व विकासमा महत्वपूर्ण योगदान पुर्याउने उहाँको भनाइ थियो।
विद्यालयका प्रिन्सिपल तथा कार्यक्रमका सभापति ओमप्रसाद ढकालले विद्यार्थीको शैक्षिक विकाससँगै सिर्जनात्मक क्षमता अभिवृद्धिलाई विद्यालयले सधैँ प्राथमिकतामा राखेको बताउनुभयो। उहाँले खेलकुद, संगीत, नृत्यलगायतका अतिरिक्त क्रियाकलापलाई आगामी दिनमा अझ परिस्कृत रूपमा निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।

