भदौ ७, काठमाडौँ । माउण्टेन मेडिसिन सोसाइटी अफ नेपालका अध्यक्ष एवं गीतकार डाक्टर कमल थापाको नयाँ गीत ‘मूल्य एक नजरको’ सार्वजनिक भएको छ ।
काठमाडौँमा शुक्रबार आयोजित एक विशेष साङ्गीतिक कार्यक्रममा डा. थापाले आफ्ना कविता तथा साङ्गीतिक प्रस्तुति प्रस्तुत गर्दै गीत सार्वजनिक गर्नुभएको हो । चिकित्सकीय पेशामा सक्रिय रहँदै आउनुभएका थापाले साहित्य र सङ्गीतलाई समेत आफ्नो सिर्जनात्मक यात्राको अभिन्न अङ्ग बनाउँदै आउनुभएको छ ।
‘मूल्य एक नजरको’ मा डा थापाको शब्द रहेको छ भने गीतमा लेखु सहयात्रीको सङ्गीत र विषम आचार्यको सङ्गीत संयोजन रहेको छ । गीतमा उज्ज्वल सागरको स्वर रहेको छ । गीतको म्युजिक भिडियोमा बद्रीप्रसाद तिवारी र रोनाली अमात्यले अभिनय गर्नुभएको छ । प्रेम, अनुभूति र मानवीय संवेदनालाई केन्द्रमा राखिएको गीतले एउटा नजर र त्यसबाट जन्मिने भावनालाई कलात्मक रूपमा प्रस्तुत गरेको छ ।
म्युजिक भिडियोको निर्देशन अनुप चापागाईंले गर्नुभएको छ भने सिनेमाटोग्राफी उत्सव दाहालको रहेको छ । भिडियोमार्फत गीतको भाव र संवेदनालाई दृश्यात्मक रूपमा प्रस्तुत गर्ने प्रयास गरिएको छ । कार्यक्रममा डा थापाको कविता वाचनसँगै डा रामु खरेलका उर्दू शेर तथा अन्य कलाकारको लाइभ साङ्गीतिक प्रस्तुतिले कार्यक्रमलाई थप आकर्षक बनाएको थियो । कविता, शेर र संगीतको संगमले कार्यक्रमलाई साहित्यिक तथा सांगीतिक माहोल प्रदान गरेको थियो ।
चिकित्सा क्षेत्रमा आफ्नो व्यावसायिक जिम्मेवारी निर्वाह गर्दै साहित्य र सङ्गीतमा समेत सक्रिय डा थापाको उक्त सिर्जनाले उहाँको बहुआयामिक व्यक्तित्वलाई उजागर गरेको छ । कविता, शब्द र सङ्गीतमार्फत आफ्ना अनुभूति प्रस्तुत गर्दै आउनुभएका थापाको ‘मूल्य एक नजरको’ साङ्गीतिक यात्राको नयाँ प्रस्तुति हो । गीत तथा म्युजिक भिडियो डा थापाको युट्युव च्यानलमार्फत सार्वजनिक गरिएको छ । भिडियोमा कलाकारको अभिनयसँगै प्रेम र संवेदनाको भावलाई दृश्यात्मक रूपमा प्रस्तुत गरिएको छ ।

