सञ्चारमन्त्रीको पछिल्लो अभिव्यक्तिप्रति पत्रकार महासंघको आपत्ति

असोज २०, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाको अभिव्यक्तिप्रति नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ ।

मन्त्री बाँस्कोटाले संसद्को विकास समितिमा पत्रकार र सञ्चारकर्मीविरुद्ध आक्षेप लगाउँदै दिएको अभिव्यक्ति र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सरकारी सूचना, सन्देश र विज्ञापन सरकारी सञ्चार माध्यमहरुलाई प्राथमिकतामा राखेर दिनु भनी गरेको पत्राचारप्रति महासंघले आपत्ति जनाएको हो । ‘समितिको असोज १८ गते बसेको बैठकमा मन्त्री बाँस्कोटाले आफू र सरकारविरुद्ध जथाभावी लेखेको भन्दै अभद्र ढंगले प्रस्तुत हुँदै आमसञ्चार क्षेत्रमाथि आक्षेप लगाउनु आपत्तिजनक छ’, महासंघको विज्ञप्तिमा भनिएको छ, ‘मन्त्री बाँस्कोटाले पत्रकारहरुलाई ‘दसैं आएको छ, खर्च पुगेन भने लिन आउनू’ भनी दिएको अभिव्यक्तिले आमपत्रकारहरुको अपमान भएको छ ।’ महासंघले जिम्मेवार मन्त्रीबाट यस किसिमको अभिव्यक्ति आएको प्रति कडा शब्दमा भत्सर्ना गरेको हो । मन्त्रालयले सरकारी सूचना, सन्देश र विज्ञापन सरकारी सञ्चारमाध्यमहरुलाई प्राथमिकता राखेर दिन गरेको पत्राचारप्रति पनि महासंघको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

‘सरकारी विज्ञापनमा सबै सञ्चारमाध्यमको समान पहुँचका लागि समानुपातिक विज्ञापन वितरणको प्रक्रिया अघि बढिरहेको बेला यस्तो किसिमको पत्राचार हुनु उचित नभएको महासंघको ठहर छ’, विज्ञप्तिमा थप भनिएको छ, ‘सरकारी सूचना सरकारी सञ्चारमाध्यमलाई प्राथमिकतामा राखेर दिनु भन्ने पत्राचारले नियन्त्रित सूचनाको प्रवाह हुने खतरा रहने र त्यसले प्रेस स्वतन्त्रतालाई नै कुण्ठित बनाउने महासंघको ठहर छ ।’ महासंघले प्रेसप्रति आक्षेप र अपमानजनक व्यवहार बन्द गरेर समान व्यवहार गर्न सरकारसँग माग गरेको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.