भदौ ३, काठामडौँ । काठमाडौँ स्थित चाबहिलमा दोस्रो माइम कला कार्यशाला सुरू भएको छ ।
साँस्कृतिक युवा समूह नेपाल र छिमेकी राष्ट्र भारत स्थित सोमा माइम थिएटर कोलकाताको आयोजनामा सात दिने माइम कला कार्यशाला प्रशिक्षण सुरू भएको छ । आज एक विशेष कार्यक्रमसहित प्रमुख प्रशिक्षक एवम् सोमा माइम थिएटर, कोलकाताकी प्रसिद्ध कलाकार सोमा दासको प्रमुख आतिथ्यतामा उद्घाटन भएको हो ।
कार्यक्रममा बोल्दै प्रमुख अथिति एवम् प्रमुख प्रशिक्षक सोमा दासले भारत र नेपालवीच साँस्कृतिक सम्बन्ध स्थापित हुने अपेक्ष गरिन् । उनले साँस्कृतिक कलाको केन्द्र कोलकाताबाट आफ्नो अनुभवलाई नेपाली कलाकारसामु प्रस्तुत गर्न पाउँदा निकै खुसी भएको बताइन् । माइम कलाको माध्यमबाट दुइ देशविचको साँस्कृतिक एवम् सामाजिक सम्बन्धमा विकास गर्न टेवा पुग्ने बताइन् । माइम कला केवल मनोरञ्जन मात्र नभइ सामाजिक चेतनाको लागि विशेष रहेको बताउँदै नयाँ ठाउँ तथा सार्वजनिक निकायहरूमा शब्दविना विचार अभिव्यक्त गर्न र सूचनाको संकेत गर्न सकिने भएकोले महत्वपूर्ण रहेको बताइन् ।

त्यस्तै कार्यक्रमा अतिथि एवम् नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) काठमाडौँका अध्यक्ष भिमबहादुर लामाले माइम कला कार्यशाला प्रशिक्षणको माध्यमबाट प्रशिक्षार्थीहरूलाई व्यक्तित्व विकास र नेतृत्व विकासमा समेत सहयोग पुग्ने बताए । अध्यक्ष लामाले माइम कला एक प्रकारको सञ्चार तथा नाट्य विधाको रूपमा विकास भइ सामाजिक रूपान्तरणमा ठूलो भूमिका रहने बताए । उनले माइम कलाभित्र सञ्चारको विकास र अन्तरदेशीय भाषालाई सहज बनाउन सहयोग गर्न सकिने शक्ति स्थापित हुने विश्वास गरे ।

कार्यक्रमका सभापति एवम् साँस्कृतिक युवा समूहका अध्यक्ष वेचन लामाले संस्थाको स्थापना कालदेखि सामाजिक, साँस्कृतिक र शैक्षिक अभियानका कार्यहरू सञ्चालन गराउँदै आएको बताए । संस्कृतिक संरक्षण, पर्यटन प्रवद्र्धन र अन्तरदेशीय सम्बन्धहरूलाई बलियो बनाउन सोमा माइम थिएटर कोलकाताको सहकार्यसंगै नेपालमा पहिलो पटक प्रशिक्षणको थालनी गरेको बताए । अध्यक्ष लामाले कला, संस्कृति र सिर्जनशीलताको यात्रामा सांस्कृतिक युवा समूह निरन्तर अघि बढिरहने बताए ।

माइम कला कार्यशाला उद्घाटन कार्यक्रममा इभेन्ट्स कन्सल्टेन्सीका कन्सल्टेन्ट नवीन श्रेष्ठ, नेपाल–भारत पौराणिक सभ्य समाजका अध्यक्ष इन्द्र सिंह मल्ल, हेरिट एकेडेमी, बसुन्धराका संस्थापक अध्यक्ष संस्थापक सुसान श्रेष्ठ, हामी नेपाली नेपालका संस्थापक अध्यक्ष तथा हामी नेपाली ग्लोबल एसिया गभर्नर बिमल कुमार खड्का, जित कुन्देडु नेपालका संस्थापक अध्यक्ष, हामी नेपाली ग्लोबलका काउन्सिलर सञ्जीव साहा, आयोजक संस्थाका उपाध्यक्ष अनिता श्रेष्ठ, सचिव यामु थापा मगर, कार्यसमिति सदस्य भारती शर्मा लगायत अतिथिहरूले शुभकामना व्यक्त गरेका थिए ।
तस्बीरहरूः इश्वर तामाङ÷प्रारम्भ खबर


