असोज २०, बुटवल। सशस्त्र प्रहरी बलको रुपन्देहीस्थित राजश्व भन्सार सुरक्षा गुल्मले भन्सार छलेर नेपाल भित्र्याउन लागिएका सामानसहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
सशस्त्र प्रहरी निरीक्षक सुरज रिजालको नेतृत्वमा खटिएको टोलीले रुपन्देही सिद्धार्थनगर नगरपालिका–१ बेलहियामा जाँच गर्ने क्रममा डिएल ११ सिए ८८४१ नम्बरको भारतीय महेन्द्र केयुभी गाडीमा भारतको झजर अग्रवाल कलोनी, ७ बस्ने ३१ वर्षीय गौरव गोयल र २८ वर्षीय अङकित गोयलबाट रु १६ लाख दुई हजार बराबरको सामान बरामद गरेर गाडी सहित उनीहरूलाई भैरहवा भन्सार कार्यालयमा बुझाएको छ ।
प्रहरीले जाँचका क्रममा सामान र ढुवानी गरेका सवारी साधान बरामद गर्ने तर तस्कर भने कमै मात्र पक्राउ हुने भनी सोधिएको प्रश्नमा सशस्त्र प्रहरी नायब उपरीक्षक गोविन्द खातीले अधिकांश तस्कर सामान ढुवानी गरेका सवारीमा आँफै आएको अवस्थामा पक्राउ हुने तर रातिको समयमा साइकल तथा मोटरसाइकलमा आएका व्यक्ति भने सवारीसाधनसहित नै सामान छाडेर फरार हुने गरेकाले पक्राउ पर्न मुस्किल हुने बताउनुहुन्छ । उहाँका अनुसार पछिल्लो एक महीनामा मात्र सशस्त्र प्रहरीले भन्सार छलेर नेपाल भित्र्इएका रु ३० लाख भन्दा बढीको विभिन्न प्रकारका सामान बरामद गरेको छ । –रासस

