बागमती सरकार गठनमा राप्रपा सामेल नहुने

साउन २२, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेश सरकारमा सहभागी नहुने औपचारिक निर्णय गरेको छ ।

बिहीबार राति बसेको प्रदेश संसदीय दलको बैठकले वर्तमान राजनीतिक परिस्थितिमा सरकार गठनको गणितीय खेलमा नअल्झिने र कुनै पनि सत्ता समीकरणमा सहभागी नहुने निर्णय गरेको हो । संसदीय दलका नेता उद्धव थापाले दिएको जानकारीअनुसार पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले दिएको निर्देशनअनुसार बागमती सरकारमा सहभागी नहुने निर्णय गरिएको हो ।

बैठकले राप्रपाको केन्द्रीय कार्यसम्पादन समिति बैठकबाट भएको निर्णय र निर्देशनलाई अनुमोदन गर्दै बागमती प्रदेश सरकारमा सहभागी नहुने निर्णयलाई औपचारिकता दिएको उनले बताए । बागमती प्रदेशसभामा १२ सिट रहेको राप्रपालाई नयाँ सरकार गठनमा निर्णायक शक्तिका रूपमा हेरिएको थियो ।

तर उसले सत्ता साझेदारीबाट आफूलाई अलग राख्ने स्पष्ट निर्णय गरेपछि नयाँ सरकार गठनका लागि आवश्यक बहुमत जुटाउने प्रयासमा रहेका दलहरूलाई नयाँ रणनीति बनाउनुपर्ने अवस्था सिर्जना भएको छ । १०४ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ५३ सांसदको समर्थन आवश्यक हुन्छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.