असोज १८, पाल्पा। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य ठाकुर गैरेले वर्तमान सरकारलाई असफल हुने छुट नरहेको बताएका छन् ।
सबै एकताबद्ध भएर वर्तमान सरकारलाई सफल बनाउनुपर्ने उनको भनाई छ । विहिबार नेपाल कम्युनिष्ट पार्टी पाल्पाद्वारा आयोजित रिब्दीकोटमा अगुवा कार्यकर्तालाई भेलालाई सम्बोधन गर्दै युवा नेता गैरेले देशमा परिवर्तन ल्याउन नेकपाको नेतृत्वको सरकार सफल हुने बताए । यो दुई तिहाइको सरकारलाई असफल हुने छुट नभएकाले यसलाई सफल बनाउन नेता तथा कार्यकर्ता लाग्नुपर्ने उनको भनाई छ ।
नेकपा नीति र विधिमा अघि बढ्ने पार्टी भएकाले चुनावको प्रतिबद्धता गरेर देखाउन नेता गैरेले बताए । नेकपाका केन्द्र्रीय सदस्य तथा प्रदेश नं ५ का सांसद तुलाराम घर्तीमगरले नेपालमा तीन तहको सरकार सञ्चालनको अभ्यास पहिलो रहेको बताए । उनले पार्टी राम्रो बने सरकारका काम कारवाही पनि प्रभावकारी हुने भएकाले नेकपालाई राम्रो पार्टी बनाउनुपर्ने बताए । नेकपाका नेता नेत्रप्रसाद पाण्डे, पार्टी संयोजन समितिका संयोजक राधाकृष्ण कँडेलले पार्टीका कमिटीलाई चुस्तदुरुस्त बनाउन सबै कार्यकर्ता लाग्नुपर्ने बताए ।
कार्यक्रममा प्रदेश सांसद तथा जिल्ला नेता नारायण आचार्य, कुलप्रसाद नेपाल, यादवबहादुर रायमाझी, राजेन्द्र विश्वकर्मा, जिल्ला समन्वय समितिका सभापति दयाराज बस्याल र रिब्दीकोट गाउँपालिका अध्यक्ष नारायणबहादुर जिसीले पार्टी र सरकार सञ्चालनमा कमीकमजोरी रहे पनि अब सच्याएर अघि बढ्ने बताए ।

