डब्ल्यूएसएलाई महिला ह्विलचियर बास्केटबलको उपाधि

जेठ १८, काठमाडाैं। ह्विलचियर स्पोर्ट्स एसोसिएसन (डब्ल्यूएसए) ले तेस्रो वडा कप महिला ह्विलचियर बास्केटबल प्रतियोगिताको उपाधि जितेको छ।

राष्ट्रिय अपांग महिला समाजको आयोजनामा ज्ञानेश्वरस्थित ग्यालेक्सी पब्लिक स्कुलमा शनिबार सम्पन्न प्रतियोगितामा डब्ल्यूएसएले तीनवटै खेलमा विजयी हुँदै ६ अंकसहित च्याम्पियन बनेको हो। उपाधिसँगै टोलीले १५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्‍यो। यस्तै, जावलाखेल ह्विलचियर स्पोर्ट्स क्लब दोस्रो स्थानमा रहँदै उपविजेता बन्यो। उसले तीन खेलमध्ये दुईमा जित र एकमा हार बेहोर्दै ५ अंक जोड्यो। उपविजेता टोलीले १० हजार रुपैयाँ प्राप्त गर्‍यो।

तेस्रो स्थान हासिल गरेको एससीआईएनएनले पाँच हजार रुपैयाँ हात पार्‍यो। उसले तीन खेलमध्ये एकमा जित र दुईमा हार बेहोर्दै ४ अंक जोडेको थियो। चौथो स्थानमा रहेको बीआईए भने तीनवटै खेलमा पराजित भयो। प्रतियोगितामा चार टोलीको सहभागिता रहेको थियो।

व्यक्तिगत विधातर्फ हिउँकला साउद सर्वाधिक स्कोरकर्ताका रूपमा सम्मानित भइन्। उनले प्रतियोगिताभर २४ स्कोर गरेकी थिइन्। त्यसैगरी, डब्ल्यूएसएकी ज्योति अर्याल  ‘मोस्ट भ्यालुएबल प्लेयर’ घोषित भइन्। दुवै खेलाडीले जनही एक हजार रुपैयाँसहित ट्रफी प्राप्त गरे।

समापन समारोहमा काठमाडौं महानगरपालिका–३० का वडाध्यक्ष दलबहादुर कार्की, नेपाल बास्केटबल संघका अध्यक्ष भीमसिंह गुरुङ तथा राष्ट्रिय अपांग महिला समाजकी अध्यक्ष देवी आचार्य लगायतको उपस्थिति थियो। प्रतियोगिता सम्पन्न गर्न काठमाडौं महानगरपालिका–३० ले विशेष सहयोग गरेको थियाे।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.