जेठ २, काठमाडौँ । प्रधानमन्त्री कार्यालयबाट हुँ भन्दै दैलेखका एक वडा सचिवलाई धाकधम्की दिने प्रकाश खड्का पक्राउ परेका छन् ।
सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–६ वीरेन्द्रचोक घर भई हाल काठमाडौंको शंखमुल बसिरहेका २२ वर्षीय खड्का काठमाडौंबाट पक्राउ परेका हुन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको नाम दुरुपयोग गरी राष्ट्रसेवक कर्मचारीलाई धम्क्याउने, भय र त्रास सिर्जना गर्ने तथा अमर्यादित शब्द प्रयोग गरेको आरोपमा पक्राउ परेका खड्कामाथि आवश्यक अनुसन्धान भइरहेको पसिसरका प्रवक्त पवन भट्टराईले जानकारी दिए ।
दैलेखको दुल्लु नगरपालिका वडा नम्बर १३ का वडासचिव कमल भण्डारीलाई प्रकाश खड्का नाम गरेका व्यक्तिले ‘प्रधानमन्त्री कार्यालयबाट हुँ’ भन्दै फोनमार्फत अत्यन्त असभ्य भाषामा धाकधम्की दिएको अडिओ सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।
खड्काले सचिव भण्डारीलाई धम्की दिएको अडिओ सामाजिक सञ्जालमा भाइरल भएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले त्यस घटनाबारे चासो राखेको थियो । खड्का राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वप) मा आवद्ध छन्। रास्वपा दैलेखका जिल्ला सचिव प्रकाशकुमार बुढाले शनिबार खड्कालाई कारबाहीका लागि पार्टीको केन्द्रीय अनुसन्धानमा सिफारिस गरेका थिए।

