आवेगमा गरिने निर्णयले राम्रो गर्दैन – काँग्रेस

चैत १४, काठमाडौँ । नेपाली कांग्रेस ले २०८२ भदौ २३ र २४ का घटनासम्बन्धी गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णयप्रति असन्तुष्टि जनाएको छ ।

उसले निष्पक्ष, पारदर्शी र विधिसम्मत प्रक्रिया अपनाउन पनि सरकारलाई आग्रह गरेको छ। शनिबार जारी प्रेस विज्ञप्तिमा कांग्रेसले भदौ २५ गतेदेखि नै दुवै दिनका घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न माग गर्दै आएको स्मरण गराएको छ। तर शनिबार पक्राउ परेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र आफ्नै पार्टीका नेता रमेश लेखकबारे कांग्रेसले मौनता साँधेको छ । सञ्चारमाध्यममा आएको विवरणअनुसार आयोगले भदौ २३ का घटनालाई विस्तृत रूपमा समेटे पनि भदौ २४ का घटनालाई नजरअन्दाज गरेको भन्दै कांग्रेसले प्रतिवेदन अपूर्ण र एकपक्षीय भएको दाबी गरेको छ।

विज्ञप्तिमा तत्कालीन सुशीला कार्की नेतृत्वको सरकारले प्रतिवेदन अध्ययनपछि मात्रै निर्णय गर्ने भनेको अवस्थामा बालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद् बैठकले हतारमा कार्यान्वयन गर्ने निर्णय गर्नु तथा पक्राउ गर्नु सरकारको ‘सेलेक्टिभ’ व्यवहार भएको आरोप लगाइएको छ। कांग्रेसले भदौ २३ र २४ दुवै दिनका घटनामा संलग्न जोसुकै भए पनि कानुनी प्रक्रियाअनुसार कारबाही हुनुपर्ने स्पष्ट पारेको छ। आवेगमा गरिने निर्णयले विधिको शासन कमजोर हुने, मुलुक पुनः द्वन्द्व र अस्थिरतातर्फ जान सक्ने चेतावनी समेत दिएको छ। विज्ञप्तिमा सरकारलाई संयमता अपनाउँदै निष्पक्ष अनुसन्धान, अभियोजन र कानुनी प्रक्रिया अघि बढाउन आग्रह गरिएको छ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.